चुनाव अगावै स्वर्णिमले गरे इलाम-२ मा मिलन लिम्बूको जितको घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले इलाम २ को निर्वाचन आफ्नो पार्टीले जितिसकेको दाबी गरेका छन् ।

वैशाख १५ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार रहेका मिलन लिम्बूलाई भोट माग्न इलाम पुगेका वाग्लेले बुधबार चुलाचुलीमा भएको कार्यक्रममा मिलनको जितको घोषणा गरेका हुन् । यद्यपि चुनाव आउन अझै तीन दिन बाँकी नै रहेको छ ।

‘राजनीति भनेको अंकगणितको मात्रै कुरा होइन, त्यसो त मतगणना हुन बाँकी नै छ तर हामीले चुनाव जितिसकेका छौँ’, वाग्लेले भने ।

मन्तव्य राख्ने क्रममा आफ्ना उम्मेदवार मिलन योङहाङ लिम्बूका विरुद्धविरोधी राजनीतिक दलहरुले अफवाह फैलाइरहेको बताउँदै उनले पुराना दलहरु पराजयबाट तर्सिएको बताए ।

‘रास्वपा अहिलेको बिग्रिएको राजनीतिलाई संग्ल्याउन, आशाको राजनीति गर्नका लागि जनताको घरदैलोमा आएको हो । तर पुराना दलहरु उसको अभियानबाट अत्ताल्लिएका छन् । त्यसैले आरोप प्रत्यारोपमा उत्रिएका छन्’, उनले भने ।

इलामको चुनावी प्रचारप्रसारमा आक्रामक देखिएको रास्वपाका सभापति रवि लामिछाने तथा अन्य नेताहरु यतिबेला इलाममै छन् ।

इलाम २ बाट निर्वाचित संविधान सभा अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि मिलनसँगै नेकपा एमालेबाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसबाट डम्बर खड्का र स्वतन्त्रतर्फ डेकेन्द्रसिंह थेगिम लगायत १९ जनाले मनोनयन दर्ता गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार