कोशीमा जसपाले पनि संकल्प प्रस्तावको पक्षमा मतदान गर्ने

कोशी प्रदेश सभामा दर्ता भएको संकल्प प्रस्तावमा जनता समाजवादी पार्टी नेपालले पनि समर्थन गर्ने घोषणा गरेको छ ।

आज बसेको प्रदेश सभाको बैठकमा बोल्दै जसपाकी सांसद निर्मला लिम्बूले केन्द्रबाट संकल्प प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन आएको जानकारी गराउँदै आफ्नो पूर्ण समर्थन रहेको जानकारी गराएकी हुन् ।

बिहीबार सुरु भएको बैठकमा नेकपा एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारी प्रस्तावक र एमालेकै किशोरचन्द्र दुलाल तथा माओवादीका गणेश उप्रेती समर्थक रहेर संकल्प प्रस्ताव पेश भएको थियो । सो प्रस्ताव आजै पारित गर्ने तयारी छ ।

सङ्कल्प प्रस्तावमा चैत्र ‘२६ को मितिले संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेश सभाको बैठकमा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव राखी विश्वासको मत लिन प्रदेशसभाको बैठकबाट माननीय मुख्यमन्त्री ज्यूलाई निर्देशन गरियोस्’ भन्ने उल्लेख छ ।

मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता गरेका दुई दलको कदमलाई चुनौती दिँदै मुख्यमन्त्रीले राजीनामा पनि नदिने र विश्वासको मत पनि नलिने अडान नछाडेपछि एमाले र माओवादीले संसदमा संकल्प प्रस्ताव पेस गरेका हुन् । यसअघि उनीहरूले गत सोमबार प्रदेश सभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार