स्कुटर दुर्घटनामा आमाको मृत्यु, ११ वर्षीय छोरा गम्भीर घाइते

सर्लाहीको ईश्वरपुर नगरपालिका–४, सागरनाथमा बिहीबार बिहान स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

यसैगरी दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् । बिहीबार बिहान १०ः३० बजे भएको दुर्घटनामा सागरनाथकै मिनबहादुर थापा मगरकी श्रीमती ४० वर्षीया देविमाया थापा मगरको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा मृतक देविमायाका छोरा ११ वर्षीय श्रवण थापा मगर गम्भीर घाइते भएका छन् ।

देविमायाले चलाएको बा ५४ प ६३०७ नम्बरको स्कुटर घुम्ती बाटोमा अनियन्त्रित भइ सडक नजिक राखिएको टायरगाढामा गएर ठोक्किएको प्रहरीले जनाएको छ ।

घटनास्थलको प्रकृति मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाउने तयारी भइरहेको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए ।

घाइते बालकलाई मोडेल अस्पताल लालबन्दीमा सामान्य उपचारपश्चात थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । इन्स्पेक्टर श्रेष्ठसहितको प्रहरी टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार