‘बोक्सीको घर’को सिक्वेल बनाउने घोषणा

प्रदर्शनमा रहेको चलचित्र ‘बोक्सीको घर’को सिक्वेल बन्ने भएको छ । ६ दिनमा पाँच करोड ४५ लाख ग्रसकलेक्सन गरेको चलचित्रको सिक्वेल बन्न लागेको हो ।

बिहीबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै सिनेमाको निर्माणपक्षले ‘बोक्सीको घर’को दोस्रो श्रृंखला निर्माण हुने जानकारी दिएको छ । कार्यक्रममा निर्माणपक्षले चाँडै दर्शकले सिक्वेल हेर्न पाउने जानकारी दिएको हो । निमात्री समेत रहेकी केकी अधिकारीले दुई दिनअघि नै हलमा चलिरहेको सिनेमामा ‘टु बि कन्टिन्यु’ वाक्यांश राखिएको जानकारी दिइन् ।

कार्यक्रममा निर्देशक सुलक्षण भारतीले दोस्रो श्रृंखलाको स्क्रिप्ट तयार भइसकेको जानकारी दिए । केकी अधिकारी फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘बोक्सीको घर’ बद्री अधिकारीले निर्माण गरेका हुन् । कार्यकारी निर्माता राज घिमिरे हुन् ।

चलचित्रमा केकीसँगै सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलियालगायत कलाकारको अभिनय छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार