५३ जिल्लाका चार सय ३६ स्थानमा डढेलो

देशभर वन डढेलोको अवस्था बिकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ५३ जिल्लाका चार सय ३६ स्थानमा वन डढेलो लागिरहेको छ ।

प्राधिकरणका डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म पानी नपर्ने र हावा चलेका कारण डढेलो फैलिरहेको बताए ।

‘आज पनि देशभर डढेलोको अवस्था बिराल बनेको छ । नेपालको भौगोलिक बिकटताका कारण नियन्त्रणमा थप समस्या उत्पन्न भइरहेको छ,’ उनले भने, ‘पानी परेको छैन तर हावा हुरीका कारण डढेलो फैलिरहेको छ ।’

उनका अनुसार कैलाली, डोटी, सल्यान, दैलेख, पाल्पालगायतका जिल्ला डढेलोका कारण बढी प्रभावित बनेका छन् । नेपालमा साधरणतया वर्षमा दुई हजार पाँच सयको हाराहारीमा डढेलोको घटनाहरु हुन्छन् ।

‘असी प्रतिशत वन डढेलाको घटनाहरु फागुनको मध्यदेखि जेठको मध्यसम्म ४ महिनामा हुने गर्छन् । चैत र वैशाखमा मात्रै ६० प्रतिशत डढेलोको घटनाहरु हुने गर्छन् । यसकारण अहिले हामी उच्च जोखिममको समयमा छौँ’, शर्माले भने ।

मध्य फागुनदेखि जेठको मध्यसम्म डढेलाको घटनाहरु हुने भएकाले यो समयमा सतर्क भएर बस्नुपर्ने अवस्था भएको उनले बताए । प्राधिकरणका अनुसार बुधबार ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार