नेपालमा पनि भारतीय मसलाको आयात र बिक्री वितरणमा प्रतिबन्ध

काठमाडौं । सरकारले भारतको प्रसिद्ध दुई ब्रान्डको मसलाको आयात, बिक्री वितरण तथा उपभोगमा प्रतिबन्ध लगाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतको एमडीएच र एभरेष्ट ब्रान्डको मसलाको आयात, बिक्री वितरण तथा उपभोगमा प्रतिबन्ध लगाएको हो । तर विभागले ती दुवै ब्रान्डको केही विशिष्ट मसलामा प्रतिबन्ध लगाए पनि बिहीबार साँझसम्म यो विषयमा कुनै आधिकारिक सूचना भने जारी गरेको छैन ।

विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार भारतको एमडीएच ब्रान्डको ३ र एभरेष्ट ब्रान्डको १ गरी ४ प्रकारको मसलाको आयात अनुमति तत्कालको लागि स्थगित गरिएको छ । विभागले एमडीएच ब्रान्डको मद्रास करी पाउडर- स्पाइस ब्लेण्ड फर मद्रास करी), साम्भर मसला मिक्स्ड मसला पाउडर, करी पाउडर मिक्स्ड मसला पाउडर र एभरेष्ट ब्रान्डको फिस करी मसलाको आयातमा प्रतिबन्ध लगाएको हो ।

यस्ता मसलको आयातमा प्रतिबन्धका साथै बिक्री वितरण र उपभोग गर्न पनि विभागले प्रतिबन्ध लगाएको हो । विभागले बजारमा यो मसला उपलब्ध भएको भए आयातकर्तालाई बजारबाट फिर्ता लैजान पनि निर्देशन दिएको छ । साथै राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालालाई उक्त मसलामा पाइएको भनिएको इथाइलिन अक्साइड रेसिड्युको परीक्षण पनि उच्च प्राथमिकतामा राख्न पनि आफ्ना कार्यालयहरूलाई निर्देशन दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार