गरिबलाई देखिनसहेको भन्दै बालेनविरुद्ध खनिए ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले सुकुम्बासी र गरिबलाई देखिनसहेको टिप्पणी गरेका छन् ।

आज (बिहीबार) पार्टी निकट भूमि अधिकार तथा श्रमिक संगठन नेपालले आयोजना गरेको कार्यक्रलाई सम्बोधन गर्दै उनले सुकुम्बासीमाथि ज्यादती नगर्न चेतावनी दिएका हुन् । सुकुम्बासीका छाप्रा भत्काउन डोजरको आवश्यकता नरहेको उनको भनाइ छ । उनले गरिबको बस्ती भत्काउन गरिबकै छोराछोरीको प्रयोग नगर्न पनि आग्रह गरे ।

‘सुकुम्बासीका प्लाष्टिक हालेका छाप्रा छन्, भत्काउन जान्छ डोजर । सुकुम्बासीका प्लाष्टिकका छाप्रा भत्काउन डोजर जानुपर्छ ? कर्कला फाड्न बन्चरो लिएर जाने ? सुकुम्बासीको समस्या समाधान गर्नुपर्यो, डोजर देखाउने होईन । डोजर गरिबले नै चलाउने हुन्, कुनै धनीले पुँजीपतिले डोजर चलाएको थाहा छैन । गरिबका छोराले डोजर चलाउने हो । तिनलाई आफ्नै विरुद्ध डोजर चलाउन नलगाउनुस् । गरिबकै विरुद्ध, गरिबवस्तीकै विरुद्ध, गरिबका छोराछोरीलाई डोजरका टाउकामा बसेर भत्काउने काम नलगाउनुस्,’ उनले भने ।

अध्यक्ष ओलीले भत्काउने अभियान नभएर बनाउने अभियान चलाउन आग्रह गरे । सुकुमवासीको आवासको समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ । जनताको काम गर्न सरकारका गएको दाबी गर्दै उनले सुकुम्बासीको समस्या समाधानका लागि प्रयास गरिरहेको बताए ।

समस्या समाधानमा सुकुम्बासी कहिले पनि बाधक नभएको बताए । उनले सुकुम्बासीमाथि ज्यादती नगर्न चेतावनी दिए । सुकुम्बासीको छाप्रोमा गएर लालाबाला तर्साउँदैमा बहादुरी नहुने बताए । ‘ज्यादती सुकुम्बासीमाथि नगरौं । कहीँ हेप्ने मान्छे भेटिएन अनि गरिब हेप्ने ? थर्काउने, तर्साउने कहीँ भेटिएन अनि छाप्रामा गएर सुकुम्बासीका लालाबाला तर्साएर कुन बहादुरी हुन्छ ?’ उनले प्रश्न गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार