झापामा रहेका पतिलाई कुवेतको बन्द कोठाबाट सपनाको फोन: बन्धक बनाए, छिटो उद्धार गरिदिनूस्

वैदेशिक रोजगारीका लागि कुवेत गएकी झापाको मेचीनगर नगरपालिका–८ की २८ वर्षीया सपना ठटालले आफूलाई रोजगारदाताले बन्धक बनाएर श्रम शोषण गरिरहेको जानकारी दिँदै उद्धारका लागि गुहार मागेकी छन् ।

काठमाडौँका नारायण थापा नामका एजेन्टले अल्फा नामक मेनपावर कम्पनीमार्फत मासिक रु ४० हजार पारिश्रमिक हुने प्रलोभन देखाएर सात महिनाअघि सपनालाई कुवेत पुर्‍याएको उनका पति श्यामबहादुर ठटालले बताए ।

मध्य कुवेतबाट ३२ किलोमिटर पश्चिमस्थित अल जहार सहरमा घरेलु कामदारका रुपमा पुर्‍याइएकी सपनाले दस दिनअघि साथीको मोबाइलमार्फत पतिसँग सम्पर्क गरी आफ्नो नाजुक अवस्थाबारे जानकारी गराउँदै जतिसक्दो छिटो उद्धार गरिदिन आग्रह गरेकी हुन् ।

“कुवेत गएको चार महिनादेखि सम्पर्कविहीन अवस्था थियो”, सपनाका पति श्यामबहादुरले भने, “१० दिनअघि एक्कासि फोन आयो, साथीको फोनबाट लुकेर सम्पर्क गरेको बताएकी थिइन्, बिनापैसा रातदिन काम लगाउने गरेको र केही बोल्यो भने उल्टै साहुनीले कोठामा थुनेर कुटपिट गर्ने गरेको बताउँदै जतिसक्दो छिटो उद्धार गरिदिनु भनेर भनिन् ।”

सपनाजस्तै थुप्रै महिलालाई कोठामा थुनेर राख्ने गरेको र कामका लागि गाडीमा हालेर टाढासम्म पुर्‍याउने गरेको सपनाका पति श्यामबहादुरले पत्नीको भनाइ उद्धृत गर्दै बताए । मोबाइल खोसेर परिवार र साथीसँग सम्पर्कविहीन बनाएर श्रम शोषण गरिरहेको उनले जानकारी दिए ।

कुवेत गएपछि एकपटक रु ४० हजार पठाएको र त्यसपछि सम्पर्क टुटेको सपनाकी आमा कृष्णमाया परियारले बताइन् । नाताले भाउजु पर्ने पुष्पा दर्जीमार्फत एजेन्ट थापासँग सम्पर्क भएको र पुष्पा पनि हाल कुवेतमै रहेको कृष्णमायाले बताइन् ।

काठमाडौँ घर बताउने एजेन्ट थापाले पीडितलाई उद्धार गरेर नेपाल ल्याउन रु नौ लाख फिरौती रकम मागेको कृष्णमायाले बताइन् । “रु नौ लाख दिनु, म सपनालाई झिकाइदिन्छु भनेर नारायण थापाले भन्नुभयो”, कृष्णमायाले भनिन्, “पुष्पा दर्जीलाई सम्पर्क गर्दा उहाँले पनि केही मद्दत गर्न नसक्ने बताउनुभयो ।”

दैनिक ज्यालादारी गरेर गुजारा चलाउने आफ्नो परिवारसँग फिरौती रकम बुझाउने कुनै सम्भावना नरहेको उनले बताइन् । वैदेशिक रोजगारीमा जान सपनाले बनाएको कागजातअनुसार उनको २०८० भदौ १८ गते कुवेतको भिसा जारी भएको छ भने त्यसको वैधता चार महिना अर्थात् गत पुस १८ गतेसम्म मात्र भएको पाइएको छ ।

सपनाको भिसा कागजातअनुसार उनलाई घरेलु कामदारका रूपमा कुवेतको मोदार रियल इस्टेटमा लगेको देखिन्छ । त्यहाँको ठेगाना अल जहरा ब्लक–८, सडक–१६० भएको पनि कागजातमा उल्लेख छ ।

छोटो अवधिको भिसा बनाएर विदेशमा लैजाने र भिसाको म्याद गुज्रिएपछि अवैध रूपमा काममा लगाएर श्रम शोषण गर्ने गिरोहको फन्दामा पीडित महिला परेको हुनसक्ने आशंका छ । विदेश लैजाँदा लागेको सबै खर्च एजेन्ट थापाले नै बेहोरेको बताइएको छ ।

कुवेतमा बन्धकजस्तै अवस्था भोगिरहेकी सपनाको घरमा दुई छोरा छन् । सानो छोरा १४ महिनाका मात्र छन् ।

उनका पति श्यामबहादुर ट्याक्टरमा मजदुरी गर्छन् । आमा कृष्णमायाले छोरीको सकुशल उद्धार गरी नेपाल ल्याइदिन नेपाल सरकारसँग अनुरोध गरेकी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार