नयाँ वर्षको अघिल्लो साँझ बिर्तामोडमा गुञ्जिँदै नेपथ्य

बिक्रम सम्वत २०८१ को पहिलो सूर्योदयको अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ ।

झापा जिल्लाका महत्वपूर्ण केन्द्रहरूलाई जोड्ने यस उदीयमान सहरमा आगामी चैत ३० गते शुक्रबार बेलुकी ब्याण्डका लोकरक भाका गुञ्जनेछन् ।

स्थानीय डोमालाल राजवंशी रंगशालामा आयोजना हुने कन्सर्टका लागि टिकटको मूल्य एक हजार रुपैयाँ राखिएको छ । नेपथ्य यसभन्दा अघिल्लो कन्सर्टका बेला पनि यसै मैदानमा उभिएको थियो ।

बिर्तामोड कन्सर्टको आयोजना स्थानीय श्रृद्धि इभेन्टले गर्न लागेको हो । आयोजक सुमन धिमालका अनुसार सदाझैँ त्यहाँको कन्सर्ट पनि निर्धारित समय अर्थात् शुक्रबार बेलुकी ठीक साढे ६ बजे सुरु हुनेछ । आयोजनास्थलका ढोका त्यसभन्दा दुई घन्टा अगावै अर्थात् ठीक साढे ४ बजे खोलिनेछन् ।

टिकटका लागि बिर्तामोड लगायत पूर्वका सहरहरुमा काउन्टरका व्यवस्था गरिएका छन् । इन्टरनेटबाटै बुकिङ सुरक्षित गर्न अनलाइन टिकटको पनि व्यवस्था गरिएको छ ।

कन्सर्टमा मुख्य गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउने छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार