नबिल बैंकको देशव्यापी वित्तीय साक्षरता सम्पन्न, १९ सय बढी विद्यार्थी लाभान्वित

नबिल बैंकले ग्लोबल मनी वीक अवसरमा वित्तीय साक्षरता अभिवृद्धि गर्न सातै प्रदेश केन्द्रित देशव्यापी कार्यक्रम गरेको छ । वित्तीय साक्षरता अभिवृद्धि गर्न बैंकले युवा र विद्यार्थी केन्द्रित कार्यक्रम गरेको हो ।

मार्च १८ देखि २४ सम्म विश्वभर मनाइएको ग्लोबल मनी वीक अभियानअन्तर्गत बैंकले देशका सातै प्रदेशमा १९ सय बढी विद्यार्थीमाझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरेको हो ।

बैंकले युवालाई सानै उमेरदेखि आर्थिक रूपमा सचेत गराउनुपर्छ र त्यसका लागि राम्रो वित्तीय ज्ञान दिन जरुरी छ भन्ने ध्येयले जागरुकता अभियान सञ्चालन गर्दै आएको छ । सातै प्रदेशमा सञ्चालन गरिएको वित्तीय साक्षरता कार्यक्रममा बचत, बजेटिङ, लगानी, डिजिटल वित्तीय साक्षरता, साइबर सुरक्षालगायत विषयमा विद्यार्थीलाई जानकारी गराइएको बैंकले जनाएको छ ।

वित्तीय साक्षरता प्रोत्साहित गर्न देशभरका विभिन्न शैक्षिक संस्थामा नबिल बैंकका शाखाले आयोजना गरेको कार्यक्रमबाट कोसी प्रदेशका ६७३ भन्दा बढी विद्यार्थीले लाभ लिएका थिए । मधेस प्रदेशका २२० विद्यार्थीले वित्तीय साक्षरता कक्षामा सहभागिता जनाएको बैंकले बताएको छ ।

बागमतीका विभिन्न कलेजमा सञ्चालित गतिविधिबाट ४२५ बढी विद्यार्थी लाभान्वित भएका छन् । नेपाल बैंकर्स एसोसिएसन चितवनले आयोजित वित्तीय साक्षरता कार्यक्रममा करिब ३०० जना बैंकर्सका साथै सर्वसाधारण सहभागी थिए । लुम्बिनी प्रदेशका १३५ र सुदूरपश्चिम प्रदेशका १२० विद्यार्थीले बैंकले सञ्चालन गरेको साक्षरता कार्यक्रमबाट लाभान्वित भएका छन् ।

बैंकका अनुसार कर्णाली प्रदेशमा करिब २४० जना विद्यार्थी लाभान्वित भएका छन् । बैंकको गण्डकी प्रदेशको पोखरा शाखाले लोफा पोखरासँगको सहकार्यमा वित्तीय साक्षरता विषयमा चित्रकला प्रतियोगिता गरेको हो । कक्षा ८ देखि १० र ११ देखि स्नातकसम्मका विद्यार्थीबीच २ तहमा उक्त प्रतिस्पर्धा गराइएको थियो ।

अन्तिम नतिजा यसै साता घोषणा गरिने बैंकले बताएको छ । कार्यक्रमअन्तर्गत प्रत्येक विधामा प्रथम, द्वितीय र तृतीय हुनेलाई शैक्षिक सामग्री पुरस्कार वितरण गरिने नबिल बैंक पोखरा शाखाले जनाएको छ । नबिल बैंकले वित्तीय साक्षरता विस्तार गर्न तथा डिजिटल बैंकिङलाई अभिप्रेरित गर्न वर्षभर नै विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

बैंकले हाल २६७ शाखा, २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएमबाट बैंकिङ सेवा दिँदै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार