“नदी बढ्दा मात्रै बस्ती स्थानान्तरणको कुरा आउँछ, नदी सुकेपछि उक्त कुरा हराउँछ”, तनहुँको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोकका सेती नदी कटानबाट पीडित कमला मियाँले भनिन्, “यस्तो सुनेको कैयौँ वर्ष भयो, आश्वासन कहिल्यै पूरा भएन ।”
वर्षाका बेला सेती नदी बढेपछि नगरप्रमुख, वडाध्यक्ष, जिल्लाबाट पनि थुप्रै व्यक्ति आएर आश्वासन मात्रै दिने गरेको उनको गुनासो छ । नदी बढेका बेला रातभर सुत्न नसकिने जनाउँदै उनले भनिन्, “जब वर्षा सुरु हुन्छ, त्यसपछि हामी निदाउन सक्दैनौँ, रातभर जाग्राम बस्नुपर्ने बाध्यता हुन्छ ।” ठाउँ छाडेर अन्यत्र जानका लागि केही जायजेथा नरहेको बताउँदै उहाँले भन्नुभयो, “भएको यहीँ हो, अन्त केही छैन कहाँ जानु ?”
सोही ठाउँ निवासी निर्मला सुवेदीले वर्षाका बेला तीनरचार रात पिँढीमै सुत्नुपर्ने बाध्यता रहेको गुनासो गरिन् । घरभित्र सुत्दा कतिबेला के हुने हो थाहा नहुने भएकाले छोराछोरी लिएर बाहिरै सुत्नुपर्ने उनको गुनासो छ । उनले भनिन्, “नदी कटानले बस्ती जोखिममा छ, गत वर्ष पनि जिम्मेवार व्यक्ति आएर सहयोगको आश्वासन दिएर जानुभयो, बस्ती स्थानान्तरणको कुरा पनि चलेको हो, तर आश्वासनमै बित्यो ।”
सुरक्षित ठाउँमा बस्ती सारिदिए ढुक्क हुने भन्दै उनले आश्वासन पूरा गरिदिन स्थानीय सरकार तथा सरोकारवाला निकायलाई आग्रह गरिन् । उनले भनिन्, “आशैआशमा राखिदिन भएन, अब वर्षा सुरु हुने बेला भयो, वर्षा हुनेबित्तिकै रात कसरी कटाउने भन्ने चिन्ता थपिन्छ ।”
वर्षौंदेखि सेती नदी कटानबाट पीडित बनेका यस ठाउँका १० घरलाई स्थानान्तणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको सुशासन र समृद्ध शुक्लागण्डकीका लागि युवा अभियानका अध्यक्ष शङ्कर पन्तले बताए ।
पन्तले लामो समय बितिसक्दा पनि उनीहरुको व्यवस्थापन हुन नसकेकामा ध्यानाकर्षण गराउँदै बाढी आउनुपूर्व नै उनीहरुको सुरक्षा गर्न माग गरेका छन् । उनले भने, “पुल्चोक विगत केही वर्षदेखि भाँसिएको र डरलाग्दो अवस्थामा छ, फेरि वर्षात् सुरु हुने भएकाले यसतर्फ सरकारको ध्यान गएको छैन, नदीको छेउछाउ बसोबास गर्दै आइरहेका मजदुर र गरिब सर्वसाधारणलाई स्थानान्तरणका लागि नगरपालिकाको ध्यानाकर्षण गराएका छौँ ।”
अन्यत्र जग्गा जमिन नभएकालाई तत्काल बासस्थान मिलाइदिन र जनता बाँच्न पाउने अधिकार पालना गर्न नगरप्रमुख भेटेरै आग्रह गरिएको पन्तले बताए । उनले भने, “सयौँ रोपनी जग्गा तिब्बती शरणार्थीलाई दिन मिल्ने, सयौँ रोपनी जग्गा सेनालाई दिन मिल्ने, सयौँ रोपनी जग्गामा धार्मिक मठमन्दिर बनाउन मिल्ने तर भूमिहीन गरिबलाई चार आना दिन नमिल्ने हो र ?”
विपद् व्यवस्थापन समितिले सो क्षेत्रमा बस्न अयोग्य रहेको निष्कर्ष निकालेका जनाउँदै शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले स्थानीय तहलाई भएको कानुनी प्रावधानअनुसार अघि बढ्ने बताए ।
बर्सेनि आउने बाढीका कारण यहाँका घर जोखिममा छन् । बर्सेनि सेती नदीको कटानले जोखिममा परेका यहाँका बस्तीमा जमिन भाँसिएपछि झनै खतरा बढेको छ । बस्ती नजिकैबाट सेती नदी बग्छ । सेती नदीले बर्सेनि यस ठाउँको भूभाग कटान गरिरहेको छ । यसअघि पनि केही वर्ष सेती नदीमा आएको बाढीले त्यहाँका बस्ती जोखिममा परेपछि सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । यहाँका केहीले यस ठाउँ छाडिसके पनि केही व्यक्ति भने अझै यही आश्रित छन् ।