पुनम पाण्डे जीवित, आफैंले मृत्युको खबर फैलाएको खुलासा

काठमाडौं- भारतीय मोडल पुनम पाण्डेले आफ्नो मृत्युको झूठो खबर फैलाएर स्टन्ट गरेको खुलेको छ । उनले शनिबार सामाजिक सञ्जालमार्फत् आफू जीवितै रहेको पुष्टि गरेकी हुन् । यसअघि शुक्रबार उनको मृत्यु भएको खबर भाइरल भएको थियो ।

पुनमको सामाजिक सञ्जालमार्फत् पाठेघरको मुखको क्यान्सरबाट मृत्यु भएको खबर फैलाइएको थियो । सोही आधारमा पुनमको मृत्यु भएको समाचार लेखेका प्रकाशित भएका थिए । तर, पछिल्लो पटक भने आफ्नो मृत्युको खबरलाई लिएर पुनमले माफी मागेकी छिन् ।

उनले आफू जीवितै रहेको भन्दै पाठेघरको मुखको क्यान्सविरुद्ध सचेतना फैलाउन यस्तो गरेको बताएकी छिन् । यो रोगको कारण अरू कसैले आफ्नो जीवन गुमाउनु नपरोस् भन्ने आफ्नो उद्देश्य रहेको उनको दाबी छ ।

आफ्नो पुरानो पोष्टले धेरैलाई दुःखाएको प्रति माफी माग्दै पुनमले भनेकी छन्, ‘हो, मैले मेरो मृत्युको झुठो खबर फैलाएँ तर, मैले सर्भिकल क्यान्सरबारे सचेतना फैलाउनलाई यो गरेकी थिएँ ।’

मृत्युको खबर सार्वजनिक भएपछि सबैले पाठेघरको मुखको क्यान्सरको कुरा गरिरहेको भन्दै उनले भनेकी छन्, ‘यो यस्तो रोग हो, यसले थाहै नपाइ तपाईंको ज्यान लिन्छ र यो रोगबारे धेरै चर्चा हुनु जरुरी छ, जुन मेरो मृत्युको समाचारले गरेको छ ।’

बत्तीस वर्षीया पुनम पाण्डे सामाजिक सञ्जाल र मोडलिङको क्षेत्रमा चर्चित नाम हुन्। यसअघि समेत उनले चर्चामा आउन विवादास्पद तरिका अपनाएकी थिइन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार