यस्तो छ ‘पुजार सार्की’ को ‘रिमै’ गीत

दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’ को दोस्रो गीत सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक गरिएको ‘रिमै’ बोलको गीतमार्फत चलचित्रको थिम प्रस्तुत गर्न खोजिएको छ ।

दिनेश राउतका शब्द रहेको गीतमा देवेन्द्र बराल र मुना ठटालको स्वर सुन्न सकिन्छ । यस फिल्मका निर्मातासमेत रहेका सुवास भुसालले संगीत भरेका छन् ।

सार्वजनिक गीतको भिडिओमा मुख्य कलाकारहरूलाई फिचर्ड गरिएको छ । आर्यन सिग्देल र अञ्जना बराइली तथा प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बुको अन्तरजातीय प्रेमलाई देख्न सकिन्छ । पल शाहलाई पनि गीतको भिडिओमा देखिएका छन् ।

यस फिल्ममा जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा संघर्षको कथा समेटिएको छ ।विकास सुवेदीको लेखन रहेको फिल्मका निर्माता सुवास भुसाल हुन्। पहिलोपटक आर्यन, प्रदीप र पल एकसाथ देखिँदै छन् ।

फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली लगायतको पनि अभिनय छ । यो फिल्म आगामी जेठ १० गतेबाट रिलिज हुँदै छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार