साउदी अरबको जेद्दामा गोली चल्दा बागलुङका ६० वर्षीय नेपालीको मृत्यु

साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको छ । बुधबार भएको उक्त घटनामा परि बागलुङका ६० वर्षीय नैनसिंह नेपालीको मृत्यु भएको हो । कारमा सवार एक व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएका थिए । त्यसपछि सुरक्षाकर्मीहरुले उनलाई नियन्त्रणको प्रयास गर्दा गोली चलेको थियो । त्यही गोलीबारीमा बन्दुकधारी र नेपालीको मृत्यु भएको हो ।

नेपाली सन् २००१ देखि साउदीमा थिए । साउदीको ओथमान हमेद अल घामदी एन्ड सन्स कम्पनीमार्फत उनी अमेरिकी वाणिज्य दूतावासमा सुरक्षा गार्डका रूपमा गएका थिए । नेपालीको शव अहिले प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।

जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावास सन् २०१६ मा पनि निशानामा परेको थियो । अमेरिकी दूतावास नजिकै एक जनाले आत्मघाती बम विस्फोट गराउँदा आत्मघाती आक्रमणकारीको मृत्यु हुनुका साथै दुई जना घाइते भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार