गण्डकीमा एमालेका सुन्दास र गुरुङ मन्त्री नियुक्त

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिमण्डल विस्तार गरेका छन् । विश्वासको मत लिएको भोलिपल्टै उनले मन्त्रिमण्डल विस्तार गरेका हुन् ।

मुख्यमन्त्री अधिकारीले एमालेको कोटाबाट २ जना मन्त्री थपेका हुन् । वेदबहादुर गुरुङ र सीता सुन्दासलाई दोहोर्‍याएका छन् ।

गुरुङले ऊर्जा र सुन्दासले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । गुरुङ यसअघि कृषि र सुन्दास अर्थमन्त्री थिइन् ।

गुरुङ प्रदेश सभा सदस्य निर्वाचनमा कास्की १ ‘ख’ बाट निर्वाचित सांसद हुन् । उनले नेपाली कांग्रेसका उमेदवार दीपक गुरुङ ‘माइला’लाई पराजित गरेर प्रदेश सभामा स्थान सुरक्षीत गरेका थिए ।

उता सुन्दास पनि स्याङ्जाबाट प्रत्यक्षतर्फ चुनाव जितेर यसअघि अर्थमन्त्री बनेकी थिईन् । दलित महिलाबाट पहिलो पटक प्रत्यक्ष चुनाव जितेको इतिहास बनाएकी सुन्दास नेपालकै पहिलो महिला अर्थमन्त्रीसमेत हुन् ।

यसैबीच मन्त्री नियुक्त दुवै जनाले आज पद तथा गोपनीयताको शपथ लिनेछन् ।

योसहित वर्तमान गण्डकी मन्त्रिपरिषद् पाँच सदस्यीय हुनेछ । नेकपा (माओवादी केन्द्र)का हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) यसअघि क्रमशः आर्थिक मामिला र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री भइसकेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार