नेपालको राष्ट्रियतामाथि ‘आदिपुरुष’ फिल्म लेखकको विवादित बयान

भारतीय चलचित्र ‘आदिपुरुष’ का पटकथा लेखक मनोज मुन्तशिरले सीताको जन्म र नेपालको राष्ट्रियतालाई लिएर विवादित प्रतिक्रिया दिएका छन् । चलचित्रमा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने गलत संवादबारे  भारतीय टेलिभिजन च्यानलसँग कुरा गर्दै उनले नेपाल सन् १९०३ सम्म भारतकै हिस्सा भएको दाबी गरेका छन् ।

अन्तर्वार्तामा उनले सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको भन्दै जानकी भारतकी छोरी रहेको दाबी गरे । यो कुरा नेपालीले बुझ्न नसकेको पनि उनको भनाइ छ ।

चलचित्रमा रहेको ‘जानकी भारतकी छोरी हुन्’ भन्ने विवादित अंशलाई लिएर व्यापक विरोध भइरहँदा यसका पटकथा लेखक मुन्तशिरले राष्ट्रको रुपमा नेपाल र भारत आज पनि अलग नरहेको बताएका छन् ।

नेपालको राष्ट्रियतामाथि नै प्रश्न उठाउने उनको विवादित भनाइलाई लिएर सामाजिक सञ्जालमा विरोध भइरहेको छ । यसबारे सरकारीस्तरबाटै प्रतिवाद हुनुपर्ने माग उठिरहे पनि परराष्ट्र मन्त्रालय मौन छ ।

उनले भनेका कुरा जस्ताको तस्तै :

नेपालमा भैरहेको विरोधलाई मैले बुझ्न सकेको छैन । सीता भारतकी छोरी हुन् भन्ने कुरा गर्दा नेपाल भारतको हिस्सा थियो । सन् १९०३ वा ४ को कुरा हो, त्यसबेला नेपाल भारतबाट अलग भएको हो । भारत नै थियो नेपाल । यो हिसाबले त सीता भारतकै छोरी थिइन् । नेपालीको चिन्ता मैले यसकारण बुझ्न सकेको छैन । नेपाली त हाम्रा भाई नै हुन् । यो कुरा गर्दा जानकी भारतकी बेटी नै थिइन् । राष्ट्रको रुपमा नेपाल र भारत आज पनि अलग छैनन् । देशको रुपमा अलग भएपनि, सीमाहरु अलग भएपनि राष्ट्रियताको रुपमा यी दुई एउटै हुन् किनभने भारतीय राष्ट्रियताको आवाज नेपालसम्म सुनिन्छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार