संसदबारे छलफलका लागि सभामुखले मागे प्रधानमन्त्रीसँग समय
सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि भेट गर्न समय मागेको बताएका छन् । संसद्लाई प्रभावकारी रूपमा सञ्चालन गर्ने र सरकारले ल्याएका बिजनेस अगाडि बढाउनेबारे छलफल गर्न प्रधानमन्त्री ओलीसँग समय मागेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई बंगलादेश भ्रमणका लागि बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार प्रधानमन्त्रीसँग भएको भेटका क्रममा छलफलका लागि प्रधानमन्त्री ओलीसँग समय मागेको सापकोटाले बताए । ‘आज राष्ट्रपतिज्यूलाई बिदाइ गर्ने क्रममा एयरपोर्टमा प्रधानमन्त्रीसँग कुराकानी भयो । समय मागेको छु, खबर आउला,’ सभामुख सापकोटाले भने ।
सरकारले बिजनेश नदिँदा प्रतिनिधि सभा बैठक प्रभावकारी हुन नसकेको गुनासो भइरहेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि सरकारले बिजनेश नदिँदा संसद बैठक प्रभावकारी नभएको बताइरहेको छ ।
प्रतिनिधिसभा पुनस्स्थापना भएपछि प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच औपचारिक रुपमा भेटवार्ता भएको छैन ।