पर्वतको दम्पती हत्या गाउँकै दुई युवाबाट : घटनापछि भागेर पोखरा पुगेका थिए

म्याग्दीको सदरमुकाम बेनीनजिक रहेको पर्वतको जलजला गाउँपालिका –२ मल्लाज दहका एक दम्पतीको हत्या सोही गाउँका दुई युवाले गरेको खुलेको छ । गत चैत १९ गते राति स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उनको श्रीमती ६७ वर्षीया गमला जिसीको बीभत्स हत्या भएको अवस्थामा घरभित्र शव भेटिएको थियो ।

उनीहरुको हत्या जलजला गाउँपालिका २ नेपानेका ३२ वर्षीय कृष्णबहादुर विश्वकर्मा र कुस्मा नगरपालिका २ खुर्कोट घर भई जलजला गाउँपालिका २ बौर बस्ने ३२ वर्षीय दीपक दर्जीले गरेको निष्कर्षमा प्रहरी पुगेको हो।

हत्या घटनाको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले गरेको थियो । हत्यामा संलग्न भएका एककलाई पर्वत र अर्को एक जनालाई पोखराबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी खुमलाल भुसालले जानकारी दिए ।

उनीहरुले लुट्नकै लागि दम्पतीको हत्या गरेको प्रहरीको निष्कर्ष छ। हत्यापछि लुटिएको सुन, नगद र रिचार्ज कार्ड पनि प्रहरीले बरामद गरेको छ। उनीहरुले लुटेको सुन गाल्ने र किन्ने अरु दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको डीएसपी भुसालले बताए।

सुन गाल्ने जलजला गाउँपालिका १ घर भई हाल पोखरा महानगरपालिका २५ हेम्जा बस्ने ६० वर्षका कर्णबहादुर विक र लुटेको सुन किन्ने बाग्लुङ नगरपालिका २ लोकतान्त्रिक चोकको पूर्णिमा सुनचाँदी पसलका सञ्चालक परशुराम विकलाई पनि प्रहरीले पक्राउ गरेको छ । एक महिनाको निरन्तर अनुसन्धानपछि प्रहरीले दम्पती हत्यामा संलग्न पत्ता लगाएको हो।अप्रेसन लालीगुँरास नाम दिइएको अनुसन्धानका क्रममा डग स्निफिङ, विशेषज्ञ चिकित्सकको पनि सहयोग लिएको थियो।

हत्या भएको राति ९ बजेसम्म आफन्तसँग फोनमा कुराकानी गरेर सुतेका जिसी खाटमै मृत भेटिएका थिए । श्रीमती गमला भने भुईँमा घोप्टो अवस्थामा मृत भेटिएकी थिइन ।

यस्तो छ घटनाक्रम

कृष्ण र दीपकबीच विगत ३-४ वर्षदेखि जिप चलाउने क्रममा चिनजान भएको थियो। आर्थिक स्थिति कमजोर भएको, लागू औषध दुर्व्यसनीमा लागेको, वैदेशिक रोजगारमा समेत असफल भएको, लगायतका कारण उनीहरूले विगत एक वर्षदेखि गाउँ घरका एक्ल महिला तथा बृद्धबृद्धालाई लक्षित गरेर लुटपाट गर्ने मनसाय रहेको पाइएको छ।

१४-१५ वर्षदेखि बौरमा बस्दै आएका दीपक बेनीको बौर बजारमा सामान्य घर बस्दै आएकोमा घटना हुनुभन्दा एक हप्ता अगाडि पारिवारिक बेमेलका कारण श्रीमती र छोरा छोरी सहित पोखरा महानगरपालिका–८ नयाँ बजारमा डेरा सरेका थिए।

घटना हुनुभन्दा १०-१५ दिन अगाडि नै कृष्ण र दीपकबीच मादक पदार्थ र गाँजा सेवन गरी घटना घटाउने बारेमा कुराकानी भएको प्रहरीले बताएको छ। सोही अनुसार चैत १८ गते नै दीपक पोखराबाट जलजला–२ को बौरमा पुगेर कृष्णसँग भेट गरे। नजिकैको पसलमा मादक पदार्थ सहित केही खानेकुरा किनेर कालीगण्डकी नदीको किनारमा बसेर सेवन गरे अनि मृतक दम्पतीको घरतर्फ लागे।

त्यो बेलामा सूर्यले गाई दुहुँदै थिए भने गमला पसलमा थिइन्। प्रदीवादीहरूले वृद्ध दम्पतीसँग करिब आधा घण्टा कुराकानी गरे, उनीहरूले लगाएका गरगहना, भौगोलिक अवस्थिति, सडक लगायतका बारेमा अध्ययन पनि गरे। उक्त दिन दुवै जना प्रतिवादीहरू कृष्णकै घरमा गएर बसे। चैत १९ गते खाना खाएर अतिरिक्त लुगाफाटा, हँसिया, माछा मार्ने बल्छी लगायतका सामग्री किनेर कालीगण्डकीमा पुगे।

माछा नपरेपछि चाउचाउ, चुरोट र रक्सी किनेर उकालो लागे अनि रातीको करिब आठ बजेसम्म जङ्गलमा नै बसेर रक्सी सेवन गरे। साढे आठ बजेको समयमा सूर्यबहादुरको घर नजिकै पुग्दा सूर्यबहादुर सहितका मान्छेहरूले सूर्यबहादुरको घर अगाडि भएको आगलागी निभाउँदै थिए। अभियुक्तहरू केही पर गई लुके। आगो निभाएकाहरू घर फर्किएको यकिन गरेर उनीहरू सूर्यबहादुरको आँगनमा पुगे अनि उज्यालोको लागि आँगनमा राखेको विद्युतको बल्ब निकाले। कृष्णबहादुरले आफूलाई चुरोट चाहिएको भन्दै सूर्यलाई बोलाए, चुरोट किने अनि पैसा पनि तिरे। तर बाहिरको बत्ती नबलेको भन्दै सूर्यले भित्रबाट टाउको बाहिर निकालेको मौका पारेर कृष्णबहादुरले काठको लाठीले टाउकोमा प्रहार गरे।

मृतक सूर्यबहादुरले गुहार मागेपछि श्रीमती गमला गुहार माग्दै गर्दा दीपकले लात्तीले हानेर घरको मूल ढोका फुटाए अनि लात्ती र लाठीले टाउकोमा प्रहार गरेर हत्या गरे। त्यतिले नपुगेर हँसियाले घाँटी पनि रेटे। सूर्यबहादुरको टाउको र घाँटीमा पनि सोही हँसिया प्रहार भयो।

उनीहरूको हत्या गरेपछि अभिुयुक्तहरूले मृतकको शरीरमा रहेका सुनका गहना, पसलमा रहेको नगद र रिचार्ज कार्ड लुटेर बाहिरबाट ढोकामा ताला लगाएर बाटो लागे। उनीहरूले पर्वत जिल्लापट्टिको कच्ची सडक हुँदै हिँडेर पर्वत र बागलुङको सिमानामा रहेको मालढुङ्गामा आइपुगेपछि बिहान करिब साढे पाँच बजेको समयमा पोखरा जाने बसमा चढे।

बिहान सात बजे पोखरामा झरेर गहनामा लागेको रगत सफा गरेर बाँडफाँट गरेर आफ्नो बाटो लागे। कृष्णले आफ्नो भागमा परेको सुनका गरगहना माइला बुबा पर्ने कर्णबहादुर बिकलाई गाल्न लगाए अनि गालेको सुन बागलुङमा बस्दै आएका परशुराम बिकलाई बिक्री गरे।
हत्यामा संलग्न रहेका तथा लुटिएको सुनको कारोबारमा संलग्न रहेका चारै जनालाई गत मङ्गलवार मात्रै बागलुङ र पर्वत जिल्लाबाट नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक भुसालले बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार