ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार प्रचण्डलाई

आगामी बैठकमा प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्ने

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय गर्ने जिम्मा प्रचण्डलाई दिएको हो । वर्तमान केपी शर्मा ओलीको नेतृत्वमा रहेको बर्तमान सरकारलाई समर्थन नरहेको औपचारिक लिखित जानकारी कहिले दिने भन्ने निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष प्रचण्डलाई दिइएको माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले राष्ट्रिय एकता र राष्ट्रिय स्वाधिनताको रक्षा, सम्पूर्ण लोकतान्त्रीक शक्तिहरुको एकता, संविधान, लोकतन्त्रको रक्षा, सच्चा कम्युनिष्टको एकतालाई केन्द्रविन्दुमा राखेर सम्पूर्ण नीति, योजना र कार्यक्रम अगाडि बढाउने निष्कर्ष निकालेको प्रवक्ता श्रेष्ठले बताए । त्यसआधारमा नै सबै राजनीतिक, देशभक्त शक्तिहरुसँग छलफल अघि बढाउने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले विधान संशोधन प्रस्तावमाथि आएका सुझावहरुलाई ध्यानमा राखेर पार्टी केन्द्रीय कार्यालयले त्यसलाई अन्तिम मस्यौदाको रुपमा केन्द्रीय कमिटी बैठकमा प्रस्तावका रुपमा लैजाने निर्णय गरेको श्रेष्ठले जानकारी दिए । संगठनात्मक कार्यदलले प्रस्तावित विधान संसोधन मस्यौदाका आधारमा आफ्नो संगठनात्मक कार्ययोजना केहिदिनपछि बस्ने स्थायी कमिटी बैठकमा पेश गर्ने र त्यसअनुसार संगठनात्मक योजनालाई अघि बढाउने निर्णय गरिएको उनले जानकारी दिएका छन् ।

आगामी बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले कोभिड–१९ को संक्रमणको विरुद्धको जनचेतना अभियान संचालन गर्न पार्टी पंक्तिलाई निर्देशन दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार