यू-२० महिला साफ : भारतलाई हराउँदै नेपाल फाइनलमा

काठमाडाैँ  :   यू-२० महिला साफ फुटबल च्याम्पियनशिपमा नेपालले दोस्रो खेलमा भारतमाथि शानदार जित हासिल गर्दै फाइनलमा पुगेको छ। भारतलाई ३-१ ले हराउँदै नेपाल २० फाइनलमा प्रवेश गरेको हो।

बंगलादेशको राजधानी ढाकास्थित वीर श्रेष्ठ शाहिद सिपाही मुस्तफा कमाल स्टेडियममा आज भएको खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले हराएको हो। पहिलो हाफमा १-० ले पछि परेको अवस्थामा नेपालले दोस्रो हाफको तेस्रो मिनेटमा नै भारतीय गोलकिपरको कमजोरीको फाइदा उठाउँदै अञ्जली चन्दले बराबरी गोल फर्काइन्।

खेलको ६७ औँ मिनेटमा भारतीय खेलाडीले डी-बक्सभित्र नेपाली खेलाडीलाई फाउल गरेपछि पाएको पेनाल्टीमा नेपालकी कप्तान प्रीति राईले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाइन्।

खेलको ८८ औँ मिनेटमा नेपालकी अमिषा कार्कीले अर्को गोल थप्दै नेपाललाई जित दिलाइन्। भारतका लागि खेलको पहिलो हाफको २० औँ मिनेटमा अपूर्ण नरजारीले गोल गरिन्। हारसँगै भारत प्रतियोगिताबाट बाहिरिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार