मिलनको जमानत पनि जफत भएपछि रविले भने- जित्न सकिएन, सिक्न सकियो

उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले इलाम २ को उपनिर्वाचनमा भएको हारलाई सहर्ष स्वीकार गर्न पार्टीका सदस्यहरूलाई आग्रह गरेका छन् ।

प्रतिनिधि सभा सदस्य चयनका लागि यही वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा रास्वपाका उम्मेदवार मिलन लिम्बु लज्जास्पद रूपमा हारेका छन् । सदर मतको १० प्रतिशत मत पनि ल्याउन नसकेपछि उनको जमानत नै जफत भएको छ ।

सभापति लामिछानेले चुनाव जित्न नसकिएपछि सिक्न सकिएको भन्दै चित्त बुझाएका हुन् । उनले सो क्षेत्रबाट निर्वाचित एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई कार्यकाल सफलताको शुभकामनासहित जितको लागि बधाई ज्ञापन गरेका छन् । उनले आफूहरुलाई दिईएको मत मतमात्रै नभएर ठूलो सन्देश भएको पनि उल्लेख गरेका छन् ।

उनले इफ, बट को सहारा नलिई सहर्ष पराजय स्विकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै सदस्यहरुमा अनुरोधसमेत गरेका छन् । उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका सभापति लामिछानेले फेसबुकमा लेखेका छन्:

इलाम २ को उपनिर्वाचनमा एमाले उमेदवार सुहाङ नेम्वाङ जी विजयी हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्द्छु । हामीलाई मत दिनु हुने र मत संगै ठुलो संदेश दिनु हुने सबै प्रति आभारी छु । रास्वपा उमेदवार मिलन लिम्बु लगायत अहोरात्र खट्नु हुने सिङ्गो पार्टी पंक्तिलाई धन्यवाद । जित्न सकिएन, सिक्न सकियो। त्यसैले कुनै If ,But को सहारा नलिइ सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै सदस्यहरुमा अनुरोध छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार