अमेरिकामा दुर्घटनामा परि ३२ वर्षीय विष्टको मृत्यु

अमेरिकाको क्यालिफोर्निया राज्यमा दुर्घटनामा परि एक नेपालीको मृत्यु भएको छ । क्यालिफोर्नियाको साक्रामेन्टो सहरमा सवारी दुर्घटनामा ३२ वर्षीय प्रज्वल विक्रम विष्टको मृत्यु भएको हो ।

बिहीबार राती विष्टको गाडीलाई अर्को गाडीले ठक्कर दिएको थियो । घटनास्थलमै विष्टलाई मृत घोषित गरिएको थियो भने अर्का चालक गम्भीर घाइते भएका छन् ।

प्रज्वल वरिष्ठ गायक ओम विक्रम विष्टका आफन्त हुन् । गायक विष्टका अनुसार आफ्नो गाडीमा रातो बत्तीमा बसी रहेको समयमा अर्को गाडीले ठक्कर दिए पछि उनको ज्यान गएको हो । मृतक विष्ट काठमाडौँस्थित पेप्सीकोलाका स्थायी बासिन्दा हुन् ।

मृतककी आमाको नाम मुना विष्ट हो भने हाल उनी नेपालमा बसोबास गर्ने र बाबु अनन्त विक्रम विष्ट १५ वर्षदेखि अमेरिकामै छन् ।

गत बर्ष मात्र क्यालिफोर्निया पुगेका बिष्टले आफ्नी पत्नीको गाडी हन्डा सिभिक चलाई काममा जाने क्रममा दुर्घटना भएको हो ।

क्यालिफोर्निया राजमार्ग प्रहरीले दुर्घटनाको अनुसन्धान जारी राखेको बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार