दमौली आगलागी अपडेट : २१ जना पीडितको सात करोड क्षति

तनहुँको व्यास नगरपालिका–३ दमौलीको मुख्यचोकस्थित फलफूल लाइनमा सोमबार बिहान भएको आगलागीमा करिब सात करोड रुपैयाँ बराबरको क्षति भएको विवरण संकलन भएको छ।

व्यास नगरपालिकाले गठन गरेको समितिले संकलन गरेको विवरणअनुसार आगलागीबाट रु छ करोड ९९ लाख ५१ हजार छ सय ७० को क्षति भएको हो। समितिका संयोजक एवं व्यास–३का वडाध्यक्ष अनुप रानाले २१ जना पीडितसँग भेटेर विवरण संकलन गरिएको जानकारी दिए। संकलित क्षतिको विवरण नगर विपद् समितिमा पेस गरिने उनले बताए।

उनका अनुसार पीडितको भनाइका आधारमा क्षतिको विवरण संकलन गरिएको छ। उनले भने, ‘पीडितले दिएको जानकारीअनुसार सबैभन्दा थोरै रु तीन लाख दश हजारदेखि रु एक करोड १५ लाखसम्मको क्षति भएको विवरण छ।’ इमेज मोबाइलको रु एक करोड १५ लाख र मदिरा विक्रेताको रु एक करोड १५ लाख क्षति भएको विवरण संकलन गरिएको छ।

व्यास नगरपालिकाले सोमबार वडाध्यक्ष रानाको संयोजकत्वमा समिति गठन गरेको थियो। समितिमा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला प्रहरी कार्यालय तनहुँ, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि, तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाइ सभापति सुकनारायण मल्ल, पीडितका तर्फबाट केहरसिंह आले, प्रतापसिंह अधिकारी र नगरपालिकाका इन्जिनियर सुवास गौतम सदस्य छन्।

समितिलाई तीन दिनभित्र क्षतिको विवरण संकलन गरी पेस गर्न भनिएको थियो। जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका २१ पसल आगलागीबाट पूर्णरुपमा क्षति भएको छ।

यहाँ आइसिक्रम पसल, सैलुन, फलफूल, मदिरा, मोबाइल, पुस्तक पसल, दूध डेरीलगायत सञ्चालनमा थिए। व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले क्षतिको यकिन विवरण आएपछि नगर विपद् समितिले जिल्ला विपद् व्यवस्थापन समितिलाई सिफारिस गर्ने बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार