उच्च अदालतले माग्यो पल शाहलाई थुनामा पठाउनु पर्ने कारणसहितको कैफियत प्रतिवेदन

उच्च अदालत पोखराले नाबालिगलाई बलात्कारको अभियोगमा मुद्दा चलाइएका अभियुक्त पल शाहलाई थुनामा पठाउनुको कारणसहितको कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको छ । बुधबार न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरी सो को जानकारी सरकारी वकिल कार्यालयलाई गराउन आदेश दिएको हो ।

मुलुकी फौजदारी कार्यावधि संहिता, २०७४ को दफा ७३ बमोजिम शाहले साधारण तारेखमै रिहा हुन पाउनुपर्ने माग गर्दै मंगलबार उच्च अदालत पोखरामा निवेदन दर्ता गराएका थिए ।  उच्च अदालत पोखराले थुनछेक बहस प्रयोजनका लागि अभियुक्तलाई थुनामै पठाउनुपर्ने कारण, त्यसका आधार र त्यस सम्बन्धमा रहेका कागजातहरूको प्रमाणित प्रतिलिपि सहितको कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएका हुन् ।

तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदनसहितको कागजात प्राप्त भएपछि सुनुवाइका लागि पेसी तोकिनेछ । ‘तत्काल प्राप्त प्रमाणबाट शाहले जबरजस्ती करणी गरेको देखिएको’ भन्दै तनहुँ जिल्ला अदालतले गत चैत १० गते शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तनहुँ जिल्ला अदालतको उक्त आदेशविरुद्ध शाहको तर्फबाट मंगलबार उच्च अदालत पोखरामा पुनरावेदनको निवेदन दर्ता गरिएको थियो ।  ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार