पल शाहको निवेदन न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा

नाबालिगलाई बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको निवेदन न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा परेको छ । थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै शाहले मंगलबार दिएका रिट बुधबार पेसी सूचीमा चढेको हो ।

मुलुकी फौजदारी कार्यावधि संहिता, २०७४ को दफा ७३ बमोजिम शाहले साधारण तारेखमै रिहा हुन पाउनुपर्ने माग गर्दै मंगलबार उच्च अदालत पोखरामा निवेदन दर्ता गराएका थिए । उक्त निवेदन बुधबार नियमित पेसी सूचीबाट न्यायाधीश राजभण्डारीको इजलासमा परेको हो ।

शाहले थुनामुक्त हुनका लागि दिएको निवेदनमा तनहुँ जिल्ला अदालतले थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नेगरी दिएको आदेश कानुनसम्मत नभएको, अदालतमा रहेको मिसिल र तथ्यगत प्रमाणलाई वेवास्ता गरिएको आदि कारणबाट आफू थुनामुक्त भई साधारण तारेखमै रहेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गरिएको छ ।

एक नाबालिग गायिकालाई विवाह गर्छु भनी ललाईफकाई प्रेममा पारी जबरजस्ती करणी गरेको अभियोगमा बालिकाकै बुवाको जाहेरीका आधारमा गत फागुन ११ गते तनहुँ प्रहरी र त्यसको केही दिनमा नवलपुर प्रहरीमा जाहेरी परेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार