भारतले युक्रेनको सुमाइबाट बंगलादेशीसहित नेपाली नागरिकको उद्धार गर्‍यो

काठमाडौं । युक्रेनको सुमाइ क्षेत्रबाट भारतले आफ्ना सबै नागरिकलाई उद्धार गरेको जनाएको छ। भारतीय संचारमाध्यमहरुका अनुसार १२ वटा बसमा भारतीय नारिकहरुलाई पोल्टाभा क्षेत्र लगिँदैछ।

भारत सरकारले आफ्ना नागरिकसहित सुमाइ क्षेत्रमा रहेका केही बंगालादेशी र नेपाली नागरिकलाई समेत उद्धार गरी बसबाटै पोलटाभा लगेको छ। नेपाल सरकारले युक्रेनमा रहेका नेपालीहरुलाई सकेसम्म छिटो सीमा क्षेत्रमा जान पहिलै देखि आग्रह गर्दै आएको छ। बर्लिनस्थित नेपाली दूतावासले हालसम्म ५११ जना नेपाली सीमावर्ती मुलुकमा स्थानान्तरण भएको जनाएको छ। भारतले अन्य क्षेत्रमा पनि उद्धारकार्य जारी रहने बताएको छ।

रसिया र युक्रेनबिच युद्ध भइरहेको आज १३ दिन पुगेको छ। पूर्वी युक्रेनको दुई विद्रोही क्षेत्रलाई ‘स्वतन्त्र राज्य’ को मान्यता दिएसँगै रसियाले आक्रमण सुरु गरेको थियो। रसियाली सेना र युक्रेनी सेना र नागरिकबिच अहिले विभिन्न स्थानमा लडाइँ भइरहेको छ।

लाखौं मानिसले युक्रेन छाडिसक्दा अझै लाखौं युक्रेनबाट पलायन हुने तयारीमा छन्। युद्धग्रस्त युक्रेनमा रहेका आआफना नागरिकहरुको उद्धार गर्न विभिन्न देश खटिएको छ। भारतले पनि ‘अपरेशन गंगा’ नाम दिएर नै युक्रेनबाट आफ्ना नागरिकलाई फिर्ता ल्याउन अभियान चलाइरहेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार