को हुन् रूसविरुद्ध युद्ध लड्ने उद्घोष गरेका नेपाली युवा ?

रूस र युक्रेनबीच युद्ध चलिरहेको छ। रूसले युक्रेनमाथि स्थल र हवाई मार्फत आक्रमण गरिरहेको छ। रूसी आक्रमणले युक्रेनका धेरै शहर क्षतिग्रस्त भइरहेका छन्। रूसी आक्रमणको विरोधमा विश्वभरमा नागरिक सडकमा ओर्लिएका छन्। यसैक्रममा नेपालका एक युवा रूसविरुद्धको लडाइँमा युक्रेनको पक्षबाट लड्ने भएका छन्।

नेपालबाटै गएका एकजना युवकको भिडियो बुधबारदेखि सामाजिक सञ्जालमा भाइरल बनेको छ। युक्रेनबाटै सार्वजनिक भएको उक्त भिडियोमा नेपाल घर भएको बताउँदै प्रताप बस्नेत नामका ती युवाले रूसविरुद्ध लड्न तयार रहेको बताएका छन्।

नेपालबाट आएको बताउने प्रताप बस्नेत नामका ती युवक आफू रसियाविरुद्ध लड्न तयार भएको भन्दै युक्रेनी सेनामा भर्ती हुन पुगेका छन्। अंग्रेजी भाषामा बोलिरहेका उनले युक्रेनको पक्षमा उभिँदा आफूलाई गर्व लागिरहेको बताएका छन्।

‘युक्रेनको पक्षमा युद्ध लड्न पाउँदा मलाई गर्व लागेको छ। म युक्रेनको पक्षमा लड्न सेनामा भर्ना हुँदैछु’, उनले भनेका छन्, ‘आइएम फर्म नेपाल, म भर्ती हुन अहिले सेनाको क्याम्पमा आएको छु।’

उनले युक्रेनको पक्षमा उभिँदै यो भूमि जोगाउन लड्ने बताएका छन्। ‘यो भूमि युक्रेनको हो, यहाँ रसियाले हस्तक्षेप गर्न पाउँदैन’, उनले भनेका छन्, ‘ अहिलेको तनावपूर्ण अवस्थामा म रातभर सुत्न सकेको छैन।’

उनले युक्रेनमाथि रसियाली आक्रमणलाई मानवीयता र मानवअधिकारको सवाल पनि भनेका छन्। ‘यो मानवीयता र मानवअधिकारको सवाल पनि हो’, उनले भनेका छन्, ‘मैले आफूलाई यहाँ सुरक्षित महसुस गर्न सकेको छैन। यो युक्रेनका लागि केही राम्रो गर्ने बेला हो।’

उनले आफू अन्तिम श्वास रहेसम्म युक्रेनका लागि लड्ने पनि बताए। ‘म अन्तिम श्वास लियुन्जेलसम्म युक्रेनका लागि लड्न तयार छु’, उनले भनेका छन्, ‘मैले यहाँ काम गरिरहेको छु। यो बेलामा मैले युक्रेनबाट खाना र सेल्टर पनि पाएको छु।’

उनले आफूलाई युक्रेनले पालेको बताउँदै संकटमा साथ दिने पनि तर्क गरेका छन्। ‘युक्रेनलाई अहिले मेरो सहयोगको आवश्यकता छ’, उनले भनेका छन्, ‘त्यसैले म युक्रेनको लागि लड्दैछु।’

यो विषयमा नेपाल सरकारले कुनै आधिकारिक पुष्टि भने गरेको छैन।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार