यूएईमा आत्महत्या गर्ने नेपालीको संख्या बढ्यो

काठमाडौं । युनाइटेड अरब ईमिरेट्स (यूएई)मा आत्महत्या गर्ने नेपालीहरुको संख्या बढ्न थालेको छ ।नेपाली दूतावास अबुधाबीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२१ मा यूएईमा १३८ जना नेपालीहरुको मृत्यु भएको छ । जसमध्ये २८ जनाले आत्महत्या गरेका थिए । सन् २०१८ मा यूएई आएर आत्महत्या गर्नेको संख्या ३३ जना रहेको थियो । त्यसैगरी २०१९ मा १७ र सन् २०२० मा ४४ जनाले आत्महत्या गरेका थिए । आत्महत्या गर्ने मध्ये ४३ प्रतिशत भिजिट भिसामा यूएई आएका नै छन् ।

नेपाली दूतावास अबुधाबीका अनुसार सन् २०२१ मा भिजिट (पर्यटक) भिसामा यूएई आएर मृत्यु भएका नेपालीहरुको संख्या १२ जना रहेको छ । रुकुमका मिलन घर्ती मगर, उदयपूरका स्वस्ती विश्वकर्मा, सुनसरीका भोजराज सन्जेल, काठमाडौँकी पूर्ण शोभा मानन्धर, नुवाकोटका अम्बर बहादुर गुरुङ, दाङका बिबस केसी र सर्लाहीका बुद्द सिंह वाइबाको बिभिन्न कारणले यूएईमा मृत्यु भएको हो । उनीहरु सबै जनालाई दलालले अध्यागमन सेटिङ मार्फत भिजिट भिसामा यूएई ल्याएका थिए । भिजिट भिसामा आएर मृत्यु हुनेहरु मध्ये ५ जनाको मृत्यु कोभिड–१९ को कारण भएको थियो । उनीहरुको शवलाई यूएईमै ब्यवस्थापन गरिएको छ । भिजिट भिसामै आएका अन्य ३ जनाको मृत्यु भने हृदयघातका कारण भएको दूतावासले जनाएको छ ।

राम्रो कमाई हुने आशामा दलालमार्फत अध्यागमन सेटिङ गरेर भिजिट भिसामा यूएई आएकाहरु पछिल्लो समय मृत्यु हुने क्रम पनि निकै बढेको छ। भिजिट (पर्यटक) भिसामा यूएई आउनेहरु काम खोज्नेको लागि आफ्नो देश छोडेका हुन्छन् । ठुलो धनराशि खर्चेर धेरै पैसा कमाउने सपना बोकेर भिजिटमा आउने अनि भनेजस्तो नभएपछि निराश भएर आत्महत्या गर्नेहरु धेरै छन् । भने, कतिपयले पारिवारिक तनावका कारण पनि आत्महत्या गर्ने गरेको पाइन्छ । दलालहरूको प्रलोभनमा परेर परिवारलाई समेत जानकारी नदिई यूएई आउने भएकाले कुनै पनि कारणले मृत्यु भएमा उनीहरुको पहिचान गर्न कठिन हुने गरेको पाइन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार