एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने कुल आचार्यको घोषणा

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आगामी महाधिवेशनमा अध्यक्षमा कुल आचार्यले उम्मेदवारी घोषणा  गरेका छन् । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आचार्यले नागरिकता र सम्पत्तिको अधिकार स्थापित गर्ने प्रतिबद्धता सहित उम्मेदवारी घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा आचार्यले ‘संस्थामा अनियमितता र दुरुपयोगका गुनासो बढ्दै गएको भन्दै यसलाई सुधार गर्ने बताए । उनले संस्थाभित्र आर्थिक अनियमितता र दुरुपयोग रोक्ने धारणा राखेका छन् ।
कोभिड–१९ का कारण ठुलो सङ्ख्यामा नेपालीले रोजगारी गुमाएर स्वदेश फर्कनुपरेको भन्दै उनले स्वदेश फर्केका नेपालीका लागि रोजगार सिर्जना गर्न सघाउन ‘एक एनआरएन एक रोजगार’ भन्ने अवधारणा अगाडि सारेको जानकारी दिए । उनले एक पटकको नेपाली सधैँका लागि नेपाली भन्ने भावना स्वीकार गरे पनि नागरिकतासम्बन्धी ऐन नबन्दा अधिकार उपयोग गर्न नपाएको भन्दै यसलाई प्राथमिकताका साथ उठाउने बताएका छन् ।
एनआरएनएको दसौँ विश्वसम्मेलन आगामी अक्टोबर २३ देखि २५ सम्म काठमाडौँमा हुँदैछ । यसअघिको निर्वाचनमा आचार्य कुमार पन्तसँग १४७ मतान्तरले पराजित भएका थिए ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार