गैरआवसीय नेपालीका समस्या समाधानका लागि मेरो उम्मेदवारी : कुल आचार्य

यसपटक फरक सोच र दृष्टिकोणसहित साथीहरूले अघि बढ्न भन्नुभएको छ

गैर आवासीय नेपाली सङ्घ  (एनआरएनए) को १०औँ महाधिवेशन नजिकिँदै जाँदा विश्वभर रहेका नेपालीहरूको ध्यान फेरि एक पटक यसमा तानिएको छ । विगतमा महाधिवेशनका बेला विश्वभर रहेका सङ्घका प्रतिनिधिहरू काठमाडौँमै भेला भएर नयाँ नेतृत्व चयन गर्ने गरेका थिए । तर, १०औँ महाधिवेशन कोभिड सङ्कटका कारण विकसित प्रविधिको उपयोग गर्दै भर्चुअल सम्पन्न गर्ने निर्णय भएको छ । यो सँगै नयाँ नेतृत्वका लागि विभिन्न देशमा रहेका एनआरएनए अभियान्ताहरुले सामाजिक सञ्जालमार्फत दाबी पेस गरिरहेका छन् । एनआरएनएका महत्त्वपूर्ण अभियन्ता, पूर्व उपाध्यक्ष एवं हालका सल्लाहकार कुल आचार्यले फेरि एक पटक अध्यक्षको उम्मेदवारको रूपमा आफूलाई अघि बढाउने निर्णय गरेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। अघिल्लो कार्यकालमा अध्यक्षको उम्मेदवारी दिएर झिनो मतले पराजित आचार्यको यस पटकको दाबी किन रु के छन् उनका एनआरएनए हाँक्ने एजेन्डा भन्ने विषयमा टिभी अन्नपूर्णले गरेको कुराकानी संक्षेपमा :

एनआरएनएको १०औँ महाधिवेशन हुँदैछ, के छ तयारी ?

अक्टोबर २३ देखि २५ सम्म महाधिवेशन हुँदैछ । पहिलाभन्दा अहिले कोभिड सङ्कटका कारण काठमाडौँमै जम्मा भएर गर्न सम्भव रहेन । अनलाइन भोटिङ गर्ने निर्णय भएको छ । १०औ महाधिवेशन हुँदै गर्दा धेरै कुरा परिवर्तित हुँदै अब टेक्नोलोजीलाई प्रयोग गरेर यो महाधिवेशन सम्पन गर्ने तयारी छ ।

यसपटक केन्द्रीय कमिटीमा हुनुहुन्न, यो अधिवेशनमा यहाँको उपस्थिति कस्तो रहन्छ ?

पक्कै पनि यो अभियानमा मेरो आबद्धतादेखि अहिलेसम्म जुन जिम्मेवारी लिएर सक्रियता पूर्वक सफल बनाउने क्रम निरन्तर छ । सोही रूपमा उपस्थिति रहनेछ ।

नयाँ नेतृत्व चयन हुँदैछ, यसपटक तपाई फेरि उम्मेदवार बन्ने हो ?

हो, मैले गैर आवासीय नेपाली अभियानमा सुरुवातदेखि नै सक्रियतापूर्वक सहभागी भइरहेको छु । यस क्रममा अघिल्लो वर्ष अध्यक्षको प्रत्याशीको रूपमा मैदानमा थिए । मैले चाहन्थे अध्यक्षको रूपमा मलाई विश्वभरका साथीहरूले अघि सारेपछि मैले एक कार्यकालको नेतृत्व लिनुपर्छ । आकाङ्क्षीको रूपमा अरू साथीहरू पनि आइसकेपछि चुनावमा जानुपर्ने भयो । उक्त चुनावमा म पराजित भए । यो महाअभियानमा सक्रिय हुँदा चुनाव प्राविधिक विषय मात्रै हो । म कार्यसमितिमा हुँदा र नहुँदा जस्तोसुकै अवस्थामा विश्वभरका नेपालीको हितमा निरन्तर काम गरिरहेको छु । गैरआवसिय नेपाली अभियानको सिपाहीको रुपमा काम गरेको म । चुनावमा थोरै धेरै मत ल्याउने कुरालाई सामान्य लिएर काम गरिरहेको छु । संसारभरका साथीहरूले एक पटक यो अभियानको नेतृत्व गर्नुपर्छ भनेकाले म फेरि यो महाधिवेशनमा समस्त संसारभरका एनआरएनका लागि म मैदानमा आउने निर्णयमा पुगेको छु ।

अघिल्लो पटक अघि सारेका साथीहरूको मत पर्याप्त थिएन र पराजय भोग्नुपरेको थियो । फेरि त्यस्तै अवस्था नआउला भन्ने आधार के हो ?

धेरै साथीहरूले जुन तरिकाले मलाई दोस्रो पटक अघि बढाउनुभएको छ । त्यो पहिलाभन्दा फरक दृष्टिकोणसहित अघि बढाउनुभएको छ भन्ने मैले बुझेको छु । यहाँहरूले पनि यही रूपमा बुझ्दा उपयुक्त होला । अवश्य पनि निर्वाचनमा हार जीतका कुरा त हुन्छन् नै । तथापि गैर आवासीय नेपालीको सिपाहीको रूपमा संसारले जसरी हेरिरहेको छ । त्यो अघिल्लो पटकभन्दा फरक छ ।

एनआरएनएमा यहाँले निर्वाह गरेको भूमिका र अघिल्लो पटक झिनो मतले पराजय भएपछि पनि यहाँको निरन्तर सक्रियतालाई हेर्दा एक कार्यकाल यहाँलाई सर्व सहमतिमै दिनुपर्ने बेला आएको यहाँले नै भनिरहनुभएको छ । तर, यस पटक त प्रतिस्पर्धी झन् बढ्ने देखियो नि ?

यसपटक सर्वसहमतिको सम्भावना बाँकी छ नै । अवश्य पनि संसारका सबै नेपालीलाई अपनत्व बोध गराउन अझै मजबुत एकीकृत गराउनका लागि हामी सर्वसम्मतिको बाटोमा अघि बढ्नुपर्ने छ । आशा गरौँ त्यो दिन आओस् । मैले पनि त्यो अपिल गरिरहेको छु ।

एक कार्यकाल पर्खेर अर्को कार्यकालमा स्वतःअध्यक्ष बन्ने स्थान सुरक्षित गर्ने सम्भावना हुँदा हुँदै हतार गरेर अघिल्लो पटक चुकेँ भन्ने लाग्दैन ?

त्यो प्रक्रिया थियो । त्यो प्रक्रियामा मैले भाग लिनुलाई अन्यथा लिनु हुँदैन । म उपाध्यक्षमा भएकाले पनि म स्वभाविक अध्यक्षको दाबेदार थिए । चुनावमा हारजित जे भएपनि म निरन्तर यही अभियानमा सक्रिय रहेकाले चुकेको भन्ने प्रश्नै आउँदैन ।

पुराना अभ्यास हेर्दा हरेक नेतृत्व चयनका बेला अर्को कार्यकालको नेतृत्व गर्ने गरि सहमतिका प्रयास हुने गरेको पनि हो । यस पटक त्यस्तो केही थियो वा छ ?

खास यसपटकका लागि त्यस्तो केही भएको मेरो जानकारीमा छैन । भोलिको लागि स्वभाविक रूपमा त्यो खालको व्यक्तित्वबारे सोच्न सकिने कुरा अवश्य हुनसक्छ ।

यो महाधिवेशनका लागि यहाँहरूले चयन गरेका एजेन्डाहरू के हुन ?

म व्यक्तिकाभन्दा पनि संस्थागत एजेन्डाहरू महत्त्वपूर्ण हुन्छन् भन्ने सोच्छु । यी हरेक दुई वर्षमा परिवर्तन हुने नेतृत्वमा पुग्ने व्यक्तिका एजेन्डाभन्दा संस्थाका एजेन्डा बोकेर अघि बढ्न चाहन्छु । समग्र गैर आवासीय नेपालीका समस्या नै हाम्रा साझा एजेन्डा हुन भन्दै आएको छु । जस्तै ः गैर आवासीय नेपालीका लागि नागरिकताको विषयलाई तार्किक निष्कर्षमा पु¥याउने । सोही नागरिकताका आधारमा पासपोर्ट लिने व्यवस्था गर्ने । नेपालको सम्पत्ति बिक्री गरेर देशबाट भएको पुँजी पलायन रोक्ने । यो देशमा भएको लगानी र आफ्नो सम्पत्ति सुरक्षित छ भन्ने बाहिर भएका नेपालीहरूले अनुभूति गर्ने वातावरण बनाउने । श्रमलाई मर्यादित गर्ने । विभिन्न देशमा भएका नेपालीले सहज श्रम स्वीकृति दिने व्यवस्थापन हुँदा समस्यामा परेका छन्, यसर्थ यसको सहज व्यवस्थापन गर्ने । हाम्रा भविष्यका सन्ततीहरुलाई नेपालसँग जोड्नका लागि आज जसरी भारत, चीन, लगायतका धेरै देशहरूले डायस्पोराका नागरिकहरूलाई जोडेर पर्याप्त लाभ लिइरहेको छ । हामीले पनि यसलाई प्राथमिकताका साथ उठाउने ।

यी संस्थागत एजेन्डाहरू कार्यान्वयनका लागि धेरै आकांक्षीहरु मैदानमा छन् तपाई नै यसको नेतृत्वमा पुग्नुपर्ने आवश्यकता किन ?

अवश्य पनि, संस्थागत रूपमा काम गर्दा आफ्नो एउटा भूमिका हुनुपर्छ । भूमिका विहीन व्यक्तिले जानेर चाहेर पनि कतिपय काम निर्णयार्थ लैजान भूमिका विहीन भएका बेला अप्ठ्यारो पर्ने कुरा मैले अघि पनि भने । मैले पछिल्ला दुई वर्षमा व्यक्तिगत रूपमा अभियानलाई अघि बढाउँदै गर्दा कतिपय सतप्रयासहरु गरिरहेको थिएँ । जुन चाहेर पनि कार्यसमितिमा नहुँदा कार्यान्वयनमा जान सकेनन् । यस कारण पनि मैले संस्थाको मुख्य भूमिकामा रहेर एक कार्यकाल केही ठोस र महत्त्वपूर्ण एजेन्डा पुरा गर्नुपर्ने आवश्यकता छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार