कोभिड-१९ बैकहरुका लागि चुनौतीसँगै डिजिटल बैकिङको अवसर पनि बन्यो : सिईओ खुञ्जेली

वर्क फ्रम होम सफल भयो,अब डिजिटल बैकिङमार्फत बैंक फ्रम होमको अभ्यास गदैछौं

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड १९ ले विश्व अर्थतन्त्रमा नराम्ररी असर गरेको छ । यसबाट नेपालको बैङ्किङ क्षेत्र पनि अछुतो रहन सकेन । तर, तुलनात्मक रूपमा अन्य क्षेत्र भन्दा कम प्रभावित बनेको बैङ्किङ क्षेत्रले कोभिड १९ लार्ई चुनौतीसँग अवसरको रूपमा पनि लिएर अघि बढ्दा डिजिटलाईजेशनमा उल्लेख्य प्रगति भएको छ । महामारीको समयमा वर्क फ्रम होमको अभ्यास सफल भएपछि बैकले ग्राहकका लागि बैङ्क फ्रम होमको अवधारणामा काम गरिरहेका छ । यद्यपि कोभिड १९ बाट प्रभावित नेपालको बैङ्किङ क्षेत्र बिस्तारै पुरानै अवस्थामा फर्कँदै छ । यस्तो अवस्थामा नेपालका बैङ्किङ क्षेत्रको अहिलेको अवस्था र चुनौतीका साथै मेगा बैङ्क लिमिटेडका भावी योजनाका विषयमा नेपालको बैङ्किङ इतिहासकै पहिलो र उत्कृष्ट महिला व्यवस्थापकको रूपमा सम्मानित सिइओ अनुपमा खुञ्जेलीसँग टिभी अन्नपूर्णले गरेको कुराकानीको सम्पादित अंश :

आजकल दैनिकी कसरी चल्दैछ  ?

अब यो कोभिडमा त हामीले वर्क फ्रम होम टेस्ट गर्‍यौ ।  डिजिटल रूपमा त्यो सफल नै भयो । कोभिड १९ बिस्तारै नियन्त्रणमा आएसँगै अब अहिले बैङ्कमा आएर मज्जाले काम गर्न पाइएको छ ।  दोस्रो चरणले के गर्ने हो  भन्ने प्रश्नहरू छन् ।  तर यो खोपले सबै सामान्य हुनेछ भन्ने लागेको छ ।

कोभिड –१९ ले कस्तो प्रभाव पार्‍यो ?  बैङ्किङ क्षेत्र अब पुरानै अवस्थामा फर्केको हो ? 

कोभिड –१९ ले नेपालमा मात्रै हैन संसारभरको अर्थतन्त्र प्रभावित भयो । अहिले समग्रमा हेर्दा आर्थिक स्थितिमा परिवर्तन आएको छ ।  अर्थतन्त्रमा देखिएको शिथिलता बिस्तारै तग्रिन थालेको देखिरहेका छौ । नेपालको बैङ्किङ क्षेत्रको सवालमा हामीले अघिल्लो वर्ष गरेको भन्दा बढी लोन प्रवाह गरिसकेका छौं । कोभिड १९ बाट प्रभावित ग्राहकहरूलाई बचाउनुपर्छ भनेर  राष्ट्र बैङ्कले ल्याएका नियमहरूलाई हामीले आत्मसाथ गरेर अघि बढिरहेका छौं । जसअनुसार व्याजमा छुट, पुर्नकर्जा जस्ता कार्यक्रम अहिले लागु भएका छन् । पर्यटन क्षेत्रमा त अझैपनि यसको असर छ ।  त्यसबाहेकका क्षेत्रमध्ये बैङ्किङ क्षेत्रले पनि अब बिस्तारै गति लिँदै छन् ।

डिजिटल बैंकिङ्गलाई कार्यान्वयन गर्ने सवालमा बैङ्किङ क्षेत्रका लागि कोभिड १९ चुनौतीसँगै अवसरको रूपमा पनि आएको हो ? 

हामीले डिजिटल बैंकिङ्ग भनेर पेपर सेभ गर्ने गरि डिजिटल  हस्ताक्षर प्रयोग गरेर वातावरण मैत्री बनाउनको लागि अगाडी बढिसकेका थियौ ।  त्यो हुँदा कोभिड १९ को महामारीको त्रासबिच हामीलाई घरमै बसेर काम गर्न धेरै सहज भयो ।  त्यसले गर्दा त्यो विषम परिस्थितिमा पनि  मेगा बैङ्कको ग्रोथ सामान्यरुपले अगाडी बढेकै देखिन्थ्यो । घरमै बसेर बैङ्कको सबै कुरा हेर्ने, बैङ्कको खर्च अनुमोदन गर्ने गरेका थियौँ ।  फेरि पनि डिजिटलमा जाने भनेपनि पूर्ण डिजिटल नभइसकेको अवस्थामा वर्क फोरम होम त भयो बैङ्क फोरम होमको अवस्था नभएकाले हाम्रा फ्रन्टलाइन स्टाफहरू अफिस आएर ग्राहकका लागि सेवा दिनुपर्ने अवस्था थियो ।  ५० प्रतिशत मा बैङ्क चलाएर पनि हेर्‍यौ । त्यसले गर्दा डिजिटल घरमै बसेर काम गर्न सकिने रहिछ भन्ने कुरा पनि सिकियो ।  अब हामीले चाहेको हाम्रा ग्राहकका लागि घरबाटै बैङ्क प्रयोग गर्ने व्यवस्था मिलाउने हो  ।  यसका लागि डिजिटलाइज प्रोडक्ट्सहरु ल्याउनुपर्छ भन्ने कुरा सिकाएको छ ।  अहिले बैङ्कमा खाता खोल्न, एप्लिकेसन हाल्न, आईपिएसबाट ट्रान्सफर गर्न निक्कै सजिलो भएको छ । डिजिटल सञ्चार धेरै अगाडी बढिसकेको छ ।  अबको दिनहरूमा डिजिटलाइजेशनले अगाडी फड्को मार्ने छ जस्तो लागेको छ ।

कोभिड –१९ ले पारेको प्रभाव न्यूनीकरण गर्न  नेपाल राष्ट्र बैकले ल्याएका स्किम  पर्याप्त छन् ?

नेपाल राष्ट्र बैङ्कले कोभिड १९ प्रभावित ग्राहकहरूलाई सहज बनाउन ब्याजदरमा २ प्रतिशत छुट दियो । व्यापार व्यवसायमा पारेको प्रभावका आधारमा कोभिड लोनको कार्यक्रम आयो । पुर्नकर्जा तथा पुर्नसंचरना गरिदिएर ऋणीलाई सहज बनाउने काम भयो ।

त्यसले गर्दा पनि ग्राहकहरूलाई राहत मिलेको छ । सस्तो ब्याजदरमा ग्रहाकहरुलाई यो बेलामा सहयोग गर्नुपर्छ भन्ने अवधारणाका साथ राष्ट्र बैङ्कबाट आएका निर्देशनहरू पर्याप्त अपर्याप्त भन्दा पनि राहत पुग्ने खालका छन् ।

राष्ट्र बैङ्कले पनि सहजीकरणको उपाय दिँदादिँदै बैङ्कहरूले ऋणीलाई कालोसूचीमा राख्ने धितो लिलामीका सूचना निकाल्नेजस्ता काम कसरी भए ? 

यसमा तपाईँहरू जस्ता मिडियाकर्मी साथीहरूले पनि कम बुझेको जस्तो देखियो ।  पुसभन्दा पछाडि बिग्रेका लोनहरूलाई राष्ट्र बैङ्कले कोभिडको असर परेको र बिग्रेको भनेर उहाँहरूलाई हामी सहजीकरणको प्रयास गरिरहेका छौं । तर, पुसभन्दा अगाडी बिग्रेका लोनहरू जुन छन् , तिनीहरूलाई त आफ्नो  प्रक्रिया अनुसार अघि लैजानै पर्छ । नेपाल राष्ट्र बैङ्कको नीति नियम र निर्देशन अनुसार १०० प्रतिशत प्रावधान गरेका ग्राहकहरूलाई त लिलामी गरेर उहाँहरूबाट क्लियर आउट पनि त गर्नुपर्‍यो नि । किनभने यो जति राखिराख्यो हाम्रो ग्राहकमाथि भार थपिदैं जान्छ । त्यसैले यो कुरा गर्दा कोही ग्राहकहरू हुन्छन् कि अब म चाहिँ बिग्रे – डुबे भन्ने डरले उहाँहरू सही बाटोमा नगएर गलत बाटोमा पनि जाने गरेको हामीले देखेका छौ ।  अब अदालत जान पाइन्छ गुनासो सुनवाइमा जान पाइन्छ ।  बैङ्कमै गुनासो सुनवाइको व्यवस्था पनि हामीले गरेका छौ ।  हामी सकेसम्म ग्राहकलाई सहयोग गरेर उहाँहरूलाई रिभाइभ गर्न सक्छौ । त्यो रिभाइभ गर्दाखेरि पनि भएन र उहाँहरूको क्यास लो जुन जेनेरेट भइरहेका छ । त्यसले उहाँहरूलाई सस्टेन हुने अवस्था रहेन भने देखि हामीले उहाँहरूलाई राष्ट्र बैङ्कको नियमअनुसार खराब ऋणीका रूपमा लैजाने हो । स्वभाविक रूपमा त्यसपछिको प्रक्रिया अदालत नै हो । तर, कहिलेकाहीँ नियमअनुसार यसरी लैजादापनि ग्राहकको गुनासो सुन्ने व्यवस्था कायमै राखेका हुन्छौँ । तर केही ग्राहकहरु यस्ता हुन्छन् । आफूले गरेको गल्तीलाई ढाक्न कहिलेकाहीँ मिडियाबाजी पनि गर्ने गरेका हुन्छन् । बैङ्कले आम जनताको पैसालाई लगानी गर्ने हो । यस कारण हामीले पब्लिकको पैसा लगानी गर्दा यसलाई सुरक्षित हुनेगरि गर्नुपर्ने हुन्छ । राष्ट्र बैङ्कले जारी गरेको नितिनियमको परिधिमा रहेर हामीले बैककोे गुडविललाई उचो राख्ने गरि काम गर्ने कुरामा पूर्ण प्रतिबद्ध छौ । हामी ऋणीलाई कसरी सहयोग  पुग्ने गरि काम गर्न सक्छौ भन्ने विषय सधैँ सोचिरहेका हुन्छौ तर कहिलेकाहीँ कुनै कुनै ऋणीलाई चाहेर पनि सहयोग गर्न नसक्ने अवस्था आउँछ । ऋणी आफैँले आफ्नो कारोबारलाई चुस्त राख्न नखोज्ने वा नसक्ने बाध्यात्मक अवस्था आउँदा स्वभाविक रूपमा पब्लिकको लगानी सुरक्षित गर्नका लागि पनि धितोबापत राखिएको सम्पत्ति लिलामी गर्नुपर्ने ऋणीलाई कालोसूचीमा राख्नुपर्ने अवस्था आउन सक्छ । यो बैङ्कको रहर होइन पब्लिकको लगानी सुरक्षित गर्न बाध्यात्मक रूपमा देशको नियम कानुनको अधीन रहेर गरिने यो प्रक्रियालार्ई स्वभाविक लिनुपर्दछ ।

अलिकति प्रसङ्ग बदलौँ, अहिले ब्याजदर सिङ्गल डिजिटलमा झरेको अवस्थामा लगानीको दर उकालो लाग्दैछ । फेरि ब्याजदर बढ्ने सम्भावना कति हो ? 

हाम्रो सेकेन्डरी मार्केट सानो छ । बैङ्कमा लोनको माग बढेपछि निक्षेप बढाउने चुनौती हुन्छ नै । बैकसँग पर्याप्त निक्षेप नहुँदा विभिन्न स्किममार्फत यसलाई बढाउने प्रतिस्पर्धा हुँदा फेरि ब्याजदर बढ्दैन भन्न सकिन्न । तर, अहिलेको अवस्थामा सबै कोणबाट हेर्दा तत्काल रेट बढ्नुपर्ने अवस्था आउँदैन ।

मेगा बैङ्कको अहिलेको निक्षेप र लगानीको अवस्था के हो ? 

करिब करिब १३५ अर्बको निक्षेप र १ सय २८ अर्ब लगानी भइसकेको छ । १० वर्ष अघि २ अर्बको लगानी लिएर सुरु भएको मेगा बैङ्क अहिले १८ अर्बको क्यापिटल भइसकेको छ । सेवा सुरुवातको छोटो समयमै हामी निक्कै अघि आइसकेको छौं । प्रतिस्पर्धा छ तर जुन टिम छ मेगा बैङ्कको यसले बैङ्कको ओभरल बिजनेसलाई माथि उठाउनका लागि हामी मर्जर र प्राप्तिबाट आएको विविधतायुक्त टिम भएपनि एउटै लक्ष्यमा अघि बढेकाले बैकको प्रगति लगानी र पुँजीको हिसाबले मार्केटको भन्दा डबल छ ।

व्याज घटेको अवस्थामा ऋण लगानी बढ्दा निक्षेप बढाउने तर्फ सोच्ने बेला आएको हैन ? 

पछिल्ला २ ३ महिनाको लगानीको अवस्था हेर्दा निक्षेप त अवश्य पनि बढाउनु पर्ने देखिएको छ । अहिले पनि हाम्रो मुख्य जोड भनेको  रेमिटेन्स नै हो । तथ्याङ्कले यो बढेकै देखाउँछ । यसबाहेक हामीले एउटा अन्तर्राष्ट्रिय बैकसँग सापटी पनि लिइसकेका छौं । फेरि अर्को करेसपोन्डेन्ट बैङ्कसँग सापटी लिने प्रक्रियामा छौं । राष्ट्र बैङ्कले दिएको यो सेवाबाट हामीलाई लगानी बढाउन निकै सहज भएको छ ।

साना तथा मझौला व्यवसायहरुमा लगानी बढाउन किन राष्ट्र बैकले बारम्बार दबाब दिनुपर्ने अवस्था आउँछ ? 

एसएमईमा लगानी गर्ने भन्दैमा त्यसको अवस्था कस्तो छ हेर्नुपर्छ । एसएमईमा तीन लाख व्यवसायहरू दर्ता भएको छ, भन्छन् ।  जसमा एक लाख ४० हजारले मात्र बैङ्कमा लोन लिएका छन् । त्यसमा पनि ४६ हजार मात्रै एक्टिभ छन् । त्यसैले हामीले पहिले त्यो मास सिर्जना गर्नुपर्छ । वित्तीय लिटरेसी गाउँ गाउँमा पुर्‍याउनु पर्छ भनेको पनि त्यही कारण हो । व्यवसायमा आउन खोज्ने युवाहरूलाई जो बाहिरबाट फर्केर आउनुभएको छ उहाँहरूलाई बैङ्किङ क्षेत्रभित्र ल्याएर क्षमता अनुसारको विकास गर्दै लग्नु पर्नेछ । त्यसैले पहिले त तेस्रो पार्टी आउनु पर्‍यो । बैङ्कले गएर लगानी गर्ने त होइन हामीले त व्यक्तिहरूमा लगानी गरेर उनीहरूलाई विकास गर्ने हो । त्यसैले यसको लागी समय लाग्छ । अहिले जुन प्रदेशस्तरीय सरकार आएको छ , यसले बैकिङ क्षेत्रको विकासको लागी धेरै सहयोग गर्नेछ ।

अहिलेको अवस्थामा मेगा बैंकका आगामी योजनाहरु केके हुन ?

मेगा बैङ्कको ब्यालेन्स सिट हेर्ने हो भने हामी पुँजीमा, नाफा वृद्धिमा राम्रो छौं । त्यो हाम्रो मजबुत पाटो हो । एमपीए लेबल ५ प्रतिशत भन्दा कम भएको राम्रो मानिन्छ तर हाम्रो मात्रै १.७ प्रतिशत छ । यो मेगा बैङ्कको म्यानेजमेन्टमा एकदमै राम्रो छौं भन्ने हो । हामीले महिलाको हकहितको लागि सहुलियतपूर्ण कर्जा प्रदान गरिरहेका छौं । त्यस्तै हामी कर्पोरेट सेक्टरमा मात्रै नभएर मीड एसएमई, एसएमई, डिपराइभ सेक्टर सबैलाई प्राथमिकतामा राखेर काम अगाडी बढाउँदै छौं । हरेक शाखाबाट कम्तीमा १० वटा सहुलियतपूर्ण कर्जा प्रदान गर्नुपर्ने राष्ट्र बैङ्कले जुन निर्देशन दिएको छ । त्यो पनि हामी सबै शाखाबाट छिट्टै पूर्णरुपमा लागू गर्दै छौं । उत्पादनमूलक र रोजगार सिर्जना हुने ठाउँ जहाँ छ त्यहाँ हाम्रो लगानी गर्ने योजना छ । हाम्रो पञ्च वर्षीय योजना पनि यही हो ।  अब हामी सरकारले तोकेको क्षेत्र जस्तै ऊर्जा, कृषि साना तथा मझौला व्यवसायलाई प्राथमिकता दिएर काम अगाडी बढ्दै छौं ।

नेपाल राष्ट्र बैङ्कले अहिले पनि बैङ्कको सङ्ख्या कम गर्ने उपाय खोज्दैछ तपाईँको बिचारमा वित्तीय संस्थाको सङ्ख्या घटाउनुपर्ने अवस्था किन आयो ? 

नेपालमा ठुला ठुला पूर्वाधारहरू निर्माण भइरहेका छन् । भविष्यमा हुँदै जानेछन् । त्यो अवस्थामा २ अर्बको पुँजी भएका बैङ्कले त्यहाँ लगानी गर्ने अवस्था हुँदैन । अहिले राष्ट्र बैङ्कले ८ अर्ब हुनुपर्छ भनेको छ । यस्तो अवस्थामा बैङ्कहरूमा ठूलो लगानी गर्ने क्षमता पनि हुनुपर्छ । अहिले हामी स्थापना भएको १० वर्षसम्म पुग्दा हाम्रो पुँजी १८ अर्बमाथि छ । देश विकासको लागि ठूलो पूर्वाधारहरूमा लगानी गरेर लामो समयसम्म टिकिरहन बैङ्कमा अवश्य पनि बढी पुँजी चाहिन्छ जसले गर्दा कट एन्ड थ्रो को अवस्था आउँदैन । त्यसैले कम तर बढी पुँजी भएको बैङ्क चाहिन्छ भन्ने मान्यता हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार