फुटेर जाने समूह सरकारबाट बाहिरिन सक्छ, हामी यथावत् रहन्छौँ : जसपा नेपाल

पार्टी विभाजनको मारमा परेको जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री समेत रहेका जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच मंगलबार बिहान बालुवाटारमा भेटवार्तामा पनि सरकारलाई दिइएको समर्थनलाई निरन्तरता दिने निष्कर्षमा पुगिएको पार्टीका प्रवक्ता मनिष सुमनले बताए ।

पार्टी कार्यालय बालकुमारी मंगलबार बसेको जसपा नेपालका नेताहरूको बैठकले पार्टीले गठबन्धन छाड्न लागेको भन्ने हल्लामात्रै भएको भन्दै अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म रहनुपर्छ भन्नेमा स्पष्ट रहेको जनाएको हो ।

बैठकपछि जसपा नेपालका प्रवक्ता मनिष सुमनले मिलेर चल्नुपर्ने मतादेशअनुसार नै जसपा नेपाल सरकारमा सहभागी भएको भन्दै अहिलेको गठबन्धनलाई आगामी निर्वाचनसम्म रहनुपर्छ भन्नेमा स्पष्ट रहेको र विकल्पको बारेमा नसोचेको बताए ।

उनले पार्टीबाट फुटेर गएकाहरुले बरु सरकारबाट हट्न सक्ने जिकिर गरे । उनले भने, ‘फागुन ११ गते १० बुँदे एउटा कागजमा ४ पार्टीले एउटा हस्ताक्षर गरेर जग हालेका छौँ । त्यही गठबन्धन अहिलेसम्म चलिरहेको छ । ७ जना सांसदहरुले हाम्रो पार्टी फुटाउँछौ भनेर गए । फुटाएर गए। हामी त सँगै छौं । हामी सरकारसँगै छौं । बरु फुटेर जानेहरु टुट्न सक्छन्। हामी त छँदैछौं ।’

पार्टी महाधिवेशनमा पराजित हुने डरले अहिले नै पार्टी फुटाएको सुमनको आरोप छ । उनले केही व्यक्तिहरूले पार्टी छाडेपनि त्यसले पार्टीलाई धेरै असर नपर्ने दाबी गरे ।

प्रवक्ता सुमनले वैशाख २६ गते (भोलि) बुधबार बिहान ११ बजे पार्टीमा विभाजनपछि उत्पन्न परिस्थितिबारे जानकारी दिन सो पार्टीले पत्रकार सम्मेलन आयोजना गर्न लागेको जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार