ललिपुरका दुई वनमा डढेलो: अस्पतालका बिरामीलाई सारियो, दुई जना घाइते

ललितपुरको गोदावरी नगरपालिका–६ स्थित आनन्द वनमा लागेको डढेलो फैलिएपछि त्यहाँ नजिकै रहेको आनन्द वन अस्पतालका बिरामी अन्यत्र सारिएको छ ।

डढेलो फैलिएपछि अस्पताल पनि जोखिममा परेकाले त्यहाँ रहेका ९३ जना बिरामी सारिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए । उनीहरुलाई बज्रवाराही प्राथमिक स्वास्थ्य सेवा केन्द्र र अरू स्वास्थ्य चौकीहरूमा सारिएको एसपी सुवेदीले बताए ।

लेलेतर्फको जंगलको डढेलो फैलिँदै आनन्द वनसम्म आइपुगेको हो । आनन्द वन अस्पतालको करिब ७ सय मिटर नजिकै डढेलो आइपुगेको प्रहरीले जनाएको छ । आनन्द वन अस्पतालमा कुष्ठरोगीहरुको उपचार हुने गर्दछ ।

यस्तै ललितपुरको गोदावरी नगरपालिका-४ बडिखेल जंगलमा डढेलो निभाउने क्रममा दुई जना घाइते भएका छन् ।

मंगलबार दिउँसो डढेलो निभाउने क्रममा स्थानीय शंकर पहरी र रमेश पहरी घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । नगर प्रमुख गजेन्द्र महर्जनका अनुसार घाइतेहरुलाई उपचारका निम्ति घाइतेलाई राष्ट्रिय ट्रमा सेन्टर र कीर्तिपुर बर्न अस्पतालमा पठाइएको छ । त्यहाँ केही दिनेदेखि डढेलो लागेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार