वामपन्थी एकताको कुराले न सरकार बन्छ न देश : ओली

सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताको कुराले सरकार र देश दुवै नबन्ने टिप्पणी गरेका छन् ।

सोमबार बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले आवश्यक परेका बेला कम्युनिष्ट एकता गर्ने भएपनि त्यसका लागि दल र व्यक्ति छान्नपर्ने आवश्यक्ता रहेको बताए ।

‘यतिबेला राष्ट्रिय शक्ति मिलेर सुशासन र समृद्धिको बाटोतर्फको एकता आजको आवश्यक्ता हो । वामपन्थीका नामको एकता भन्ने कुरा होइन,’ ओलीले भने, ‘वामपन्थी एकता भन्ने कुराले न सरकार बन्छ न देश चल्छ ।’ साथै, उनले पार्टी बिगार्ने र अवसरको मात्रै खोजी गर्नेहरूलाई एकतामा समावेश नगर्ने पनि बताए ।

‘परेको बखतमा एकता गर्छौँ पनि। छर छानेर। पार्टी बिगार्ने र अवसरको खोजीका लागि लाग्ने, आन्दोलनको हित नहुनेगरी काम गर्नेलाई सहभागी गराउँदैनौँ,’ ओलीले भने । ओलीले प्रधानमन्त्री बन्ने कुरा ठूलो नभएको भन्दै कुर्सीका लागि लड्न नहुने पनि बताए ।

‘प्रधानमन्त्रीको कुरा चलेको छ । त्यसबेलै मैले प्रधानमन्त्रीमा आफ्नो रुचि नभएको, प्रधानमन्त्रीको पद ठूलो कुरा होइन । महत्त्वपूर्ण कुरा पनि हो । यतिबेला के गर्दा अनुकुल वातावरण बन्छ, देश ओरालो लागिरहेको छ हामी प्रधानमन्त्रीको कुर्सीका लागि लडिरहन्छौँ भने त्यो राम्रो होइन,’ ओलीको भनाइ छ ।

मन्त्रालयको विषयमा अडिनु अहिलेको हाम्रो अभिभारा नभएको ओलीको भनाइ थियो । ‘अहिले अनुचित देशका लागि हानिकारक कामका लागि रोक्नु मुख्य कुरा हो,’ ओलीले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार