आयरल्याण्ड ‘ए’ माथि नेपाल विजयी

सोमपाल कामीको ह्याट्रिक विकेट र कुशल मल्लको घातक बलिङमा नेपाल भ्रमणमा रहेको आयरल्याण्ड वुल्भ्सलाई हराउँदै नेपाली राष्ट्रिय क्रिकेट टोलीले २ खेलको टी–२० आइ सिरिज आफनो पक्षमा पारेको छ । मंगलबार भएको सिरिजको दोस्रो खेलमा पाहुना टोली आयरल्याण्डलाई ७१ रनले पराजित गर्दै नेपालले सिरिज आफ्नो पक्षमा पारेको हो ।

नेपालले दिएको १ सय ९९ रनको विशाल लक्ष्य पछ्याएको आयरल्याण्ड वुल्भ्सको ए टोली १८.३ ओभरमा १ सय २७ रन बनाउँदा अलआउट भयो । १९ औँ ओभरमा सोमपाल कामीले ह्याट्रिक विकेट लिएपछि नेपालले सानदार जित दर्ता गरेको हो ।

आयरल्याण्डका लागि ओपनर स्टेफन डोहेनीले २६ रन बनाए। मोरङ टोपिक २१ रनमा क्याच आउट भए। फियोन ह्यान्ड ५ र ग्याभिन होनी १ रनमा आउट भए। केड कार्मिचेलले १८ र रोस अडाऐरले १७ रन बनाए। कप्तान निल रक १७ रनका क्याच आउट भए । नेपालका लागि सोमपाल कामी र कुशल मल्लले समान ३ विकेट लिए। करण केसी, कुशल भुर्तेल र विवेक यादवले समान एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९८ रनको योगफल तयार पारेको थियो । चौथो विकेटका लागि गुल्सन झा र कप्तान रोहित पौडेलले ७१ रनको साझेदारी गरेपछि नेपालले विशाल योगफलको आधार खडा गरेको थियो । ३२ बलमा १ चौका र ४ छक्का प्रहार गरेका गुल्सन ४६ रन बनाउँदा वेन ह्वाइटको बलमा कप्तान निल रकको हातबाट क्याच आउट हुन पुगे ।

त्यसअघि ओपनर आशिफ शेख ११ रन बनाउँदा म्याथु फोस्टरको बलमा क्याच आउट भए । अर्का ओपनर कुशल भुर्तेल २५ रन बनाउँदा क्याच आउट नै भए । कुशलले १६ बलमा २ चौका र २ छक्का प्रहार गर्दा फोस्टरको बलमा नै आउट हुन पुगे । अनिल साह १२ रन बनाउँदा पेभेलियन फर्के। कप्तान रोहित पौडेल ३३ रन बनाउँदा आउट हुन पुगे। उनले २४ बलमा ५ चौका हाने । विष्फोटक ब्याटिङ गर्दै १३ बलमा १ चौका र ४ छक्का प्रहार गरेका कुशल मल्ल ३४ रन बनाउँदा क्याच आउट नै हुन पुगे ।

सन्दीप जोरा २१ रनमा क्याच आउट भए। विवेक यादव ७ रनमा अविजित रहे। लामो सट खेल्ने धुनमा रहँदा आयरल्याण्डविरुद्ध नेपालका ७ ब्याटर क्याच आउट भए । आयरल्याण्डका लागि म्याथु फोस्टर र बेन ह्वाइटले समान २ विकेट लिए । फियोन हान्ड र गाभिन होइले समान एक विकेट आफ्नो नाममा गरे । नेपाली टोली अब बरोडा र गुजरात सम्मिलित त्रिकोणात्मक फ्रेन्डशिप कप खेल्न गुजरातको वापी जानेछ ।

नेपालले १८ गते गुजरात र २० मा बरोडासँग खेल्नेछ। यस्तै २१ गते पुनः गुजरात र २३ गते बारोडाविरुद्ध खेल्नेछ।। फाइनल खेल २५ मा हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार