चिसोले थप तीन भूकम्पपीडितको मृत्यु, ज्यान जानेको संख्या १० पुग्यो

चिसोका कारण जाजरकोटमा थप ३ जना भूकम्पपीडितको मृत्यु भएको छ ।

जाजरकोटको जुनीचाँदे गाउँपालिका–४, लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, छेडागाड नगरपालिका–१३, थानबाडाकी ५६ वर्षीया मनसरी कामी र भेरी नगरपालिका–४, तल्याउनका केशव भडेलको मंसिर २ गते मृत्यु भएको हो । योसँगै चिसोका कारण मृत्यु हुने भूकम्पपीडितको संख्या १० पुगेको छ ।

यसअघि बारेकोट गाउँपालिका–१, रामीडाँडाका डुमे पुन, भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की, बारेकोट गाउँपालिका–४, जिरीका नरेन्द्रबहादुर सिंह, नलगाड नगरपालिका–४ का ८४ वर्षीय गोपालबहादुर रावल, नलगाड–४ की ४८ वर्षीया पम्फा रावल, बारेकोट गाउँपालिका, बयालाका ६० वर्षीय कर्णवीर विक र बारेकोट–६ ताँसीका ५५ वर्षीय वीरबहादुर विकको मृत्यु भइसकेको छ ।

गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिममा गरी १५४ जनाको मृत्यु भयो भने सयौँ घाइते भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार