सुन तस्करी प्रकरणमा सत्ता पक्ष नै संलग्न भएको शङ्कर पोखरेलको आरोप

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो सुन तस्करी प्रकरणमा सत्ता पक्ष नै संलग्न रहेको आफूहरूको निष्कर्ष रहेको आरोप लगाएका छन् ।

नेकपा एमाले कर्णाली प्रदेश प्रचार तथा प्रकाशन विभागले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको ‘कफी र कुरा’ नामक अन्तरक्रिया कार्यक्रममा उनले त्यही निष्कर्षका आधारमा आफूहरूले उच्चस्तरीय छानबिन समिति गठन माग गरेको बताए ।

महासचिव पोखरेलले भने, ‘सुनको अवैध कारोबार गर्न पशुपति सुन काण्ड बाहिर ल्याइयो । दुई महिनामा यति ठूलो सुन तस्करी भएको तत्थ्य छ भने एक वर्षमा कति हुन्थ्यो होला । यो प्रकरणमा सत्तापक्ष नै संलग्न छ भन्नै कुराको निष्कर्षका आधारमा हामीले उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका हौं ।’

त्यस्तै नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि प्रतिपक्षलाई फसाउने ध्येयले अनुसन्धान सुरु भएको पनि महासचिव पोखरेलले बताए । उनले भने, ‘नक्कली भुटानी शरणार्थीका मुद्दामा प्रतिपक्षलाई फसाउने ध्येयले अनुसन्धान सुरु भयो । गृहको नक्कली प्रतिवेदनका आधारमा एमालेमाथि आरोप लगाउने काम गरियो ।’

उनले सुनको अवैध कारोबारका लागि पशुपतिको जलहरी प्रकरण उठाइएको समेत बताए । ‘दुई महिना अघि नक्कली कम्पनी खडा गरेर हङकङबाट पानी तान्ने पम्प र ब्रेक शुलाई जहाज चढाएर ल्याउने पर्ने कारण सुन तस्करीकै लागि रहेछ । ब्रेक शुको तौल कति हुन्छ भनेर भन्न नपाइने, अध्यागमनमा समातिएको सामान तीन दिनपछि हराउँदा पनि हामीले मान्नुपर्ने ?’ उनले सरकारलाई प्रश्न गर्दै भने, ‘यो प्रकरणमा सत्तापक्ष नै संलग्न छ भन्ने कुराको निष्कर्षका आधारमा हामीले उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका हौं ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार