डा. कर्णले पाँच लाखमा शिशु बिक्री गरेको पुष्टि, दर्जनभन्दा धेरै बेचेको खुलासा

विराटनगरको ग्रीनक्रस अस्पतालमा अविवाहित युवतीबाट जन्मिएको बच्चा (छोरी) ५ लाख रुपैयाँमा बिक्री गरेको पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा.तपेश्वरलाल कर्णले बच्चा नि सन्तान दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेका हुन् । डा.कर्णले ग्रिनक्रस अस्पतालमा सामान्य रुपमा जन्मिएकी शिशुलाई मोरङको काटहरी गाउँपालिका–२ आर्दश टोलका सूर्यनारायण राजवंशी दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको पुष्टि भएको छ ।

गत असार १४ गते भोजपुर हतुवागढी ४ घर भएका २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी प्रेमिका २६ वर्षीया युवतीको सम्बन्धबाट छोरी जन्मिएकी थिइन् । प्रेमीसँगको शारीरिक सम्पर्कबाट गर्भवती भएकी युवतीलाई गत असार १३ गते दिउँसो अस्पतालमा भर्ना गरिएको थियो। भोलिपल्टै उनले ‘नर्मल डेलिभरी’मार्फत छोरीलाई जन्म दिएकी हुन्।

भोलिपल्ट अर्थात् असार १४ मा अस्पतालले उनलाई डिस्चार्ज गर्‍यो। जब अस्पतालले घर जाने अनुमति दियो, युवतीको साथमा शिशु थिइनन्। उनले बच्चा खै भनेर सोधिन्। उनका प्रेमी गोविन्दले बच्चा अस्पतालमै रहेको, उपचारका लागि राख्नुपर्ने बताए। बिहे गर्ने वाचा गरेका प्रेमीको कुरा पत्याएर उनी प्रेमीसँगै इटहरी फर्किइन्।

आफूलाई बिहे गर्छु भन्ने वाचा गरेर बच्चासमेत जन्मिसकेको अवस्थामा प्रेमी नै बेपत्ता भएको र आफूले स्वस्थ जन्माएको शिशुसमेत साथमा नभएपछि उनी प्रहरीकोमा पुगेकी थिइन।

बच्चाकी आमालाई थाहा नै नदिई अस्पतालका डाक्टर र बच्चाका बुवाले नाटकीय ढंगबाट बच्चा बेपत्ता बनाएको उजुरी आधारमा ग्रीनक्रस अस्पतालमा पनि कार्यरत प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर तापेश्वरलाल कर्ण र बच्चाका बुवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

वरिष्ठ स्त्री रोग विशेषज्ञ ६८ वर्षीय डा. कर्णको धन्दा नै अवैध गर्भपतन गराउने र त्यस्तो सम्बन्धबाट जन्मिएका शिशुको व्यवस्थापनका नाममा अविभावकबाट समेत रकम लिने र त्यही शिशुलाई मोटो रकम लिएर निस्सन्तान दम्पतीलाई बिक्री गर्ने देखिएको छ ।

कोसी अस्पताल स्रोतले डा. कर्णले त्यस्ता शिशुलाई कम्तीमा एक लाखदेखि पाँच लाखभन्दा बढी रकमसम्म लिएर निस्सन्तान दम्पतीलाई बिक्री गर्दै आएको  प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।  उनले अवैध सम्बन्धबाट जन्मिएका दर्जनभन्दा बढी शिशुलाई मोटो रकममा बिक्री गरेको अनुसन्धानमा खुलेको छ । डा. कर्ण २०७० चैत १९ देखि २०७१ असोज १४ सम्म कोशी अस्पतालको मेसु समेत थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार