निर्वासनको १५ वर्षपछि स्वदेश फर्किएका थाक्सिन सिनावात्रा जेल चलान

निर्वासनको १५ वर्षपछि स्वदेश फर्किएका थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाकसिन सिनावात्रा जेल चलान भएका छन् । उनी मंगलबार बिहान निजी विमानमार्फत थाइल्याण्ड आएका थिए ।

बैंककको मुख्य विमानस्थलमा अवतरण हुँदा थाक्सिनलाई सयौं समर्थकले स्वागत गरेका थिए । दुई छोरी र छोराका साथ आएका उनले थाइल्याण्डका राजा र रानीप्रति सम्मान व्यक्त गरेका थिए ।

७४ वर्षका थाक्सिनलाई विमानस्थलबाट सिधै सर्वोच्च अदालत लगियो र त्यहाँबाट जेलमा लगिएको थियो । कारागारका अधिकारीहरुका अनुसार उनको उमेरलाई ख्याल गर्दै उनलाई राख्ने ठाउँमा स्वास्थ्य उपचारका विशेष उपकरणहरुको पनि व्यवस्था गरिएको छ ।

नेता सिनावात्रालाई उनको अनुपस्थितिमा अदालतले तीन वटा अभियोगमा दोषी ठहर गर्दै आठ वर्षको काराबासको सजाय आज सुनाएको हो ।

नेता सिनावात्रामाथि सत्तामा रहँदा शक्तिको दुरुपयोग गरेको, गैरकानुनी रूपमा सरकारी ब्याङ्कलाई विदेशी ऋण जारी गर्न आदेश दिएको तथा मनोनीत व्यक्तिमार्फत अवैध रूपमा शेयर राखेको कसूरमा दोषी ठहर्‍याइएको अदालतले जनाएको छ ।

थाइल्याण्डमा सैन्य कु भएसँगै उनी स्वनिर्वासनमा गएका थिए । थाइल्याण्डको राजपरिवारसँग हिरासतमा नराख्ने सहमति भएसँगै थाक्सिन थाइल्याण्ड फर्किएका हुन् । थाइल्याण्डको अदालतले उनलाई ८ वर्षको जेल सजाय तोकेको थियो । सिनावात्राले भने अदालतको फैसला राजनीति प्रेरित भएको बताउँदै आएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार