सर्वदलीय बैठकमा राष्ट्रपति पौडेलले भने- मैले ‘एक्टिभिजम’ देखाउन खोजेको होइन

राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा मंगलबार बिहान भएको सर्वदलीय बैठकमा आफूले सक्रियता देखाउन नखोजेको प्रष्टाएका छन् ।

बैठकमा उनले आफू कुनै सक्रिय हुन खोजेको नभई राष्ट्रप्रतिको चिन्ताले दलहरूसँग छलफल गरेको बताएका छन् ।

‘यो मैले एक्टिभिजम (सक्रियता) देखाउन खोजेको होइन’, राष्ट्रपतिको सल्लाहकार किरण पोखरेलले राष्ट्रपतिको भनाइ उधृत गर्दै भने, ‘म पनि लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता हुँ । त्यसैले राष्ट्रप्रतिको यो मेरो चिन्ता हो । विभिन्न कारणले तपाईहरू सबैसँग भेट पनि हुन सकेको थिएन । तपाईंहरूसँग भेटेर राष्ट्रको चिन्ता गरौँ भन्ने पनि थियो ।’

सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले उपस्थित भएको थिएन । तर सत्ता र प्रतिपक्षका अन्य दल तथा स्वतन्त्र सांसदहरू पनि सहभागी थिए ।

बैठकमा नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, रक्षामन्त्रीसमेत रहेका उपाध्यक्ष पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्ड, गृहमन्त्रीसमेत रहेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक हितराज पाण्डे, नागरिक उन्मुक्ति पार्टीबाट भूमि व्यवस्था मन्त्रीसमेत रहेकी अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने र सन्तोष परियार, जनमत पार्टीबाट उपाध्यक्ष अब्दुल खान र अनितादेवी साह, राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी, एकीकृत समाजवादीबाट मेटमणि चौधरी, जसपाबाट प्रमुख सचेतक प्रदीप यादवलगायत नेता सहभागी भएका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार