क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको पेसी आज

 क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । पेसी स्थगित नभए लामिछानेविरुद्धको मुद्दाको आजै किनारा लाग्ने छ । लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दामा किशोरीको हाल उमेर विवाद नै मुख्य विषय बनेको छ । 

पीडित र वादी नेपाल सरकारका तर्फबाट पीडितको उमेर १८ वर्षभन्दा कम भएको दाबी गरी मुद्दा दर्ता भएको थियो भने लामिछानेका तर्फबाट वकालत गर्ने कानुनव्यवसायीले पीडित भनिएकी किशोरीको उमेर १८ वर्ष पूरा भइसकेको दाबी गरेका छन् ।

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ले १८ वर्ष नपुगेकी किशोरीसँग आपसी सहमतिमै शारीरिक सम्पर्क राखे पनि त्यसलाई जबरजस्ती करणी मानिने व्यवस्था छ । 

संहिताको दफा २१९ को उपदफा २ मा मन्जुरी लिएर करणी लेनदेन गरेमा पनि बालिकाको उमेर १८ वर्षभन्दा कम भएमा त्यसलाई जबरजस्ती करणी मानिने उल्लेख छ । 

सोही कानुनको आधारमा सन्दीपमाथि बालिका बलात्कारको अभियोग लगाएर १० देखि १२ वर्षसम्मको कैद सजाय र मनासिब क्षतिपूर्तिको माग गरिएको थियो ।

सर्वोच्च अदालतले सन्दीपलाई थुनामा राखिरहनु नपर्ने भन्ने आदेशमा पनि मुख्यतः उमेर विवादलाई नै आधार लिएको थियो । सर्वोच्च अदालतको आदेशमा उक्त मुद्दालाई छिटो सुनुवाइ गर्नु भनी आदेश भएपछि काठमाडौँ जिल्ला अदालतले आजका लागि अन्तिम सुनुवाइको मिति तोकेको हो ।

उक्त सुनुवाइपछि सन्दीपले अभियोग दाबीबाट सफाइ पाएका एसिया कप खेल्न जान पाउनेछन् भने दोषी ठहर भएमा जेल जानुपर्नेछ । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार

You cannot copy content of this page