साउदी अरबको जेद्दामा गोली चल्दा नेपाली सुरक्षागार्डको मृत्यु

बुधबार दिउँसो साउदी अरेबियाको अमेरिकी वाणिज्य दूतावासअघि गोली चलेको छ।

घटनामा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको साउदी प्रेस एजेन्सीले बताएको छ । मृत्यु हुने नेपालीको परिचय खुलाइएको छैन । मृत्यु हुने नेपाली नागरिक दूतावासका लागि कार्यरत निजी सुरक्षागार्ड भएको बताइएको छ ।

घटनाको साउदी अरब र अमेरिकाका अधिकारीले पुष्टि गरेका छन् । गोलाबारीमा कुनै अमेरिकी नागरिक घाइते नभएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । उसले भनेको छ, ‘हामी अमेरिकी दूतावास, वाणिज्य दूतावास र साउदीका अधिकारीसँग सम्पर्कमै छौँ ।’

एजेन्सीका अनुसार जेद्दास्थित दूतावास नजिकै एक हतियारधारी व्यक्ति आएर कार पार्क गरेको थियो । बन्दुक बोकेर कारबाट निस्किएका ती व्यक्तिलाई सुरक्षाकर्मीले सामान्य सम्झाइबुझाइ गरे । त्यसै क्रममा उक्त व्यक्तिले ती सुरक्षागार्डमाथि गोली चलाएको साउदीन्युजले जनाएको छ ।

जवाफमा सुरक्षाकर्मीले चलाएको गोली लागेर उक्त बन्दुकधारी व्यक्तिको पनि मृत्यु भएको मक्कास्थित प्रहरी प्रवक्ताले बताएका छन् ।

जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावास सन् २०१६ मा पनि निशानामा परेको थियो । अमेरिकी दूतावास नजिकै एक जनाले आत्मघाती बम विस्फोट गराउँदा आत्मघाती आक्रमणकारीको मृत्यु हुनुका साथै दुई जना घाइते भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार