निषेधाज्ञा भएपनि पर्वतका कृषकलाई छैन बजारको समस्या

अघिल्लो वर्षको निषेधाज्ञाको अवधिमा करोडौँ मूल्यको तरकारी, फलफूल कुहाउन बाध्य भएका पर्वतका कृषकले यस वर्ष भने राहत पाएका छन् । विगत तीन सातादेखि जिल्लाभर निषेधाज्ञा लागू गरिएको भए पनि पर्वतमा उत्पादित कृषि उपज ढुवानी र बजारीकरणमा समस्या नपरेको पर्वतका किसानले बताएका छन् ।

गत वर्ष कोरोनाका कारण उत्पादित कृषि उपज बजार पठाउन नपाउँदा बारीमा कुहाए पनि यस वर्ष भने बजारीकरणमा समस्या नभएको किसानले बताएका हुन् । जिल्लाको जलजला गाउँपालिका–७ सल्यानका किसान एकनारायण पौडेलले गत वर्ष बारीमै तरकारी कुहिए पनि यस वर्ष भने कुनै समस्या नभएको जानकारी दिए । उनले ढुवानीका साधनलाई स्थानीय प्रशासनले आवातजावतमा कुनै रोक नलगाएपछि तरकारी ढुवानीमा बाधा नभएको बताउनुभयो ।

जलजला कृषि बजारले पनि किसानका उत्पादन गाउँमै पुगेर ढुवानी गर्दै आएको छ । स्थानीय कृषक नरबहादुर केसीले जलजला कृषि बजारले गाउँमै आएर तरकारी ढुवानी गरिदिँदा बिक्री नहुने समस्या हटेको बताए । जिल्लाको मोदी गाउँपालिकामा उत्पादित तरकारी तथा दूध मोदीखोला बहुउद्देश्यीय सहकारीले स्थानीय बजारसँगै पोखरासम्म बजारीकरणमा सहजीकरण गर्दा बिक्रीको समस्या नरहेको बताएका छन् ।

सहकारीका अध्यक्ष गङ्गा तिमिल्सिनाले किसानका उत्पादन ढुवानी र बिक्री वितरणमा सहयोग गर्दै आएको बताए । कुश्मा नगरपालिका र फलेवास नगरपालिकाका किसानले डोकोमा बोकेर भए पनि कुश्मामा तरकारी बेच्दै आएका छन् । गत वर्ष भने कोरोनाको त्रासले उपभोक्ताले बजारको तरकारी किनेर नखाने समस्यासमेत थियो । यस वर्ष जिल्लाभर निषेधाज्ञा भए पनि तरकारीको ढुवानीमा कुनै रोकतोक नभएको किसानहरुले बताएका छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख मनिता थापाले बाहिरी जिल्लाबाट ढुवानी रोकेर जिल्लाभित्रको उत्पादन आन्तरिक बजारमा खपत गर्न थालिएकाले किसानलाई बजारको समस्या नभएको जानकारी दिए । उनले पोखरा, काठमाडौँ, चितवनतिरबाट आउने तरकारी नल्याउन व्यापारीलाई अनुरोध गरिएको र सकेसम्म जिल्लाकै किसानको उत्पादन बेच्न भनिएको बताए । अहिलेको सिजनमा पर्वतमा घिरौँला, काँक्रा, मुला, सिमी, गाँजर, करेला, जुकेनी, लौकालगायत मौसमी तथा बेमौसमी तरकारी उत्पादन भइरहेको छ । स्थानीय गोलभेँडाको भने बजारमा माग उच्च छ तर उत्पादन कम रहेको छ । पर्वतका किसानले कुश्माबजारबाहेक बागलुङ, म्याग्दी, पोखरा र मुस्ताङसम्म तरकारी बिक्री गर्दै आएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार