अविरल वर्षाको कारण यी तीन जिल्लामा डुबानको समस्या

 अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव ताजपुरियाको कुखुरा फाराममा मंगलबार बाढी पस्दा १ हजार २ सय ब्रोईलर कुखुरा मरेका छन् । पानीका कारण फाराममा करिब १० लाख ४० हजार रूपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।

झापाकै गौरीगंज गाउँपालिका–४ सुकुम्बासी बस्तीमा मंगलबार कृष्णखोलाबाट बाढी पस्दा १५ घर डुबानमा परेका छन् । ईलाका प्रहरी कार्यालय खजुरगाछिबाट खटिएको प्रहरीले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी ती घर परिवारलाई सोही ठाउँस्थित राष्ट्रिय प्रावि अल्तावारीमा सुरक्षित स्थानान्तरण गरेको छ ।

मोरङको बुढीगंगा गाउँपालिका–१ खात टोलस्थित सिङिया खोलामा मंगलबार पानीको बहाव बढ्दा खात टोलमा रहेका करिब २६ र कटहरी गाउँपालिका–१ टाईगर टोलमा रहेका करिब ६० घरमा पानी पसेको छ ।

इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरीले ती घर परिवारलाई सुरक्षित ठाउँमा सारेको छ ।

मोरङको जहदा गाउँपालिका–१ राजबंशी चोकमा रहेका करिब १४ घर र जहदा गाउँपालिका–२ हरीनगरामा रहेका करिब १०० सय घरमा मंगलबार सिङगीया खोलाको पानी छिरेको छ । ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीले ती घरपरिवारका मानिसहरूलाई सुरक्षित ठाउँमा सारेको छ ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका–९ मिलनचोकस्थित राम प्रसाद घिमिरेको सिद्वार्थ भूमि इन्टरनेशनल ट्रेडिङ प्रालिको गोदाममा मंगलबार पानी पस्दा गोदाममा रहेका प्लाई, फोरमाइका, ढोका आइटम र किचन बास्केट डुबानमा परी क्षति भएको छ । क्षतिको एकिन विवरण खुल्न सकेको छैन ।

यसैगरी रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ कालिकानगरस्थित सुरेन्द्र पराजुलीको साझा आल्मुनियम प्रालिमा मंगलबार पानी पस्दा २ सय प्याकेट इस्क्रुप, २० प्याकेट रिबिट, २० कार्टुन डोर क्लोजर, २ सय रोल रबर, ५ सय पिस एसिटी, १ सय पिस बोर्ड र ५ सय पिस ग्लास लगायतका धनमाल डुबेर क्षति भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार