विद्यार्थी बढेपछि झापाको एक विद्यालयमा दुई सिफ्टमा पढाइ

झापाको बिर्तामोडस्थित मोहनमाया माध्यमिक विद्यालयले विद्यार्थी धेरै भएपछि बिहानी र दिवा गरी दुई सत्रमा पठनपाठन गराउने भएको छ ।

प्रधानाध्यापक शेरबहादुर श्रेष्ठका अनुसार विद्यार्थी सङ्ख्याअनुसार भौतिक संरचना नहुँदा दुई सत्रमा विद्यालय सञ्चालन गर्नुपरेको हो । यस वर्ष भर्ना अभियानमा विद्यालयले ३०० जना नयाँ विद्यार्थीका लागि फारम खुलाएको थियो । तर ९५० जनाको आवेदन पर्‍यो ।

‘६५० विद्यार्थीलाई पढाउन नसकिने अवस्था आएपछि अभिभावक, विद्यालय व्यवस्थापन समिति, बिर्तामोड नगरपालिकालगायत सवै पक्षको सहयोगमा बिहानी सत्रमा ६ देखि १० बजेसम्म पढाइ गर्ने निर्णय भएको हो’, प्रधानाध्यापक श्रेष्ठले भने ।

विद्यालयमा छोराछोरी भर्ना गराउन चाहने अभिभावक धेरै छन् । तर विद्यालयको भौतिक पूर्वाधारले थेग्न नसक्ने भएकाले सबैको भर्ना लिन नसकेको प्रधानाध्यापक श्रेष्ठ बताउँछन् ।

अहिले भर्ना लिएका विद्यार्थीलाई दिउँसोमा मात्र पढाउन सम्भव नभएपछि तत्कालका लागि बिहानमा पढाउने विकल्प रोजेको उनको भनाइ छ ।

‘हामीले नर्सरी देखि कक्षा १ सम्म पहिले आउनेलाई भर्ना गर्ने र २ देखि ९ कक्षा सम्म प्रवेश परीक्षा लिई भर्ना गर्ने गरेका छौँ । बिहानी सत्रमा ६ देखि १० बजेसम्म अध्यापन गराउँदा ‘क्रेडिट आवर’ पुग्दैन विस्तारै विभिन्न दाता तथा नगरपालिकाको सहयोगमा कक्षाकोठा व्यवस्थापन गरी पठनपाठन गराउने विद्यालयको तयारी रहेको छ’, उनी भन्छन् ।

अभिभावकको अङ्ग्रेजी भाषाप्रतिको रुचि, विभिन्न सिकाइमा भाषा जान्दाको सहजता र स्वदेश तथा विदेशमा रोजगारीका लागि पनि अङ्ग्रेजी भाषालाई प्राथमिकता दिने हुँदा अङ्ग्रेजी माध्यममा सबैको चासो बढेको प्रधानाध्यापक श्रेष्ठ बताउँछन् ।

उनले विद्यार्थीको सिकाइमा भाषाले खासै प्रभाव नपार्ने भए पनि अभिभावकको चासो र सहयोगले गर्दा नै अङ्ग्रेजी माध्यममा पढाइ सञ्चालन गरिएको बताए ।

अभिभावक डिल्लीराम कट्टेल भन्छन्, ‘मेरी छोरी १० कक्षामा अध्ययन गर्छिन् दुई वर्षपहिले कक्षा ८ मा यही विद्यालयमा भर्ना गराएको हो । पहिले निजी विद्यालयमा पढाउँदै गर्दा विभिन्न शीर्षकमा लाखौँ शुल्क तिर्नुपर्ने अवस्था थियो अहिले कम शुल्कमा नै गुणस्तरीय शिक्षा उपलब्ध भएको छ ।’

नेपालको संविधानमा मौलिक हकअन्तर्गत धारा, ३१ (२) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ भन्ने व्यवस्था रहेको छ ।

संविधानमा शिक्षा निःशुल्क गर्ने व्यवस्था भए पनि विद्यालयमा माध्यमिक तहको २५ वटा सेक्सनका लागि एकजना मात्र शिक्षकको दरबन्दी रहेको र आधारभूततर्फ पनि त्यस्तै अवस्था भएकाले अभिभावकको सहयोगविना विद्यालय सञ्चालन गर्न नसकिने प्रधानाध्यापक श्रेष्ठ बताउँछन् ।

बिर्तामोड नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव तिलचन भण्डारीका अनुसार विद्यार्थी सङ्ख्याका आधारमा दरबन्दी सिर्जना नहुँदा र एक्कासी सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढ्दा समस्या आएको छ ।

मोहनमाया माविमा १०३ शिक्षक कर्मचारी रहेका छन् जसमध्ये ३३ जनाको सेवासुविधा सरकारले र बाँकी ७० जनाको विद्यालयले निजी स्रोतबाट उपलब्ध गराउँदै आएको छ ।

मौलिक हक तथा विभिन्न ऐन कानुनमा माध्यमिक तहसम्मको पढाइ निःशुल्क हुने भनिए पनि सो अधिकांश विद्यालयमा लागू हुन सकेको छैन ।
सरकारले विद्यालयलाई चाहिने आवश्यक जनशक्ति तथा भौतिक पूर्वाधार पुर्‍याउन नसक्दा सामुदायिक विद्यालयमा पनि निजी जस्तै शुल्क तिर्नुपर्ने रहेको छ ।

धेरै लगानी भइसकेका सामुदायिक विद्यालयमा सरकारले थप केही लगानी गर्दा अभिभावकले शुल्क तिर्नुपर्ने अवस्था आउँदैन र संविधानमा व्यवस्था भएको मौलिक हकको समेत कार्यान्वयन हुन जान्थ्यो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार