नेकपा एमाले र एकीकृत समाजवादीको घोषणापत्र उस्ता-उस्तै

अघिल्लो स्थानीय तहमा सबैभन्दा धेरै पालिकामा जित हात पारेको नेकपा एमाले र एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीले सार्वजनिक गरेका स्थानीय चुनाव लक्षित घोषणापत्रमा केही रोचक समानताहरू देखिएका छन्।

तीन दिनको फरकमा सार्वजनिक गरिएका दुई पार्टीका घोषणापत्रमा भएको एउटा समानता हो यसको आकार। वैशाख ६ गते सार्वजनिक एकीकृत समाजवादीको घोषणापत्र र वैशाख ९ गते सार्वजनिक एमालेको घोषणापत्र दुवै समान ४८ पृष्ठका छन्। अर्को रोचक समानता हो दुवै दलको प्राथमिकतामा सँगसँगै र अघिपछि परेका विषयहरू।

समानता के छन् ?
नेकपा एमालेले आफ्नो पहिलो प्रतिबद्धतामा शिक्षा सम्बन्धी विषय राखेको छ भने एकीकृत समाजवादीले यो विषय दोस्रो बुँदामा राखेको छ। फरक फरक घोषणापत्रमा एकीकृत समाजवादी र एमाले दुवैले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधारलाई प्राथमिकता दिएका छन्।

निःशुल्क स्वास्थ्यको प्रतिबद्धतालाई एकीकृत समाजवादीले पहिलो प्राथमिकतामा राखेको छ भने नेकपा एमालेले दोस्रो बुँदामा राखेको छ। जटिल शल्यक्रिया बाहेकका उपचार निःशुल्क उपलब्ध गराउने समाजवादीको प्रतिबद्धता छ। एमालेले आधारभूत स्वास्थ्य सेवा र जटिल रोगको उपचार निःशुल्क गर्ने वाचा गरेको छ।

एकीकृत समाजवादी र एमाले दुवैले तेस्रो बुँदामा खानेपानीको विषयलाई राखेका छन्। एमालेको प्रतिबद्धता सबै घरधुरीमा स्वच्छ खानेपानी पुर्‍याउने छ भने समाजवादीको वाचा पाँच हजार लिटरसम्म निस्शुल्क खानेपानी उपलब्ध गराउने छ।

दुवै दलको चौथो बुँदामा विद्युत्‌को विषय छ। एमालेले विपन्न परिवारलाई घरायासी प्रयोगको विद्युत् निःशुल्क उपलब्ध गराउने वाचा गरेको छ भने समाजवादीले हरेक घर परिवारलाई २०० युनिटसम्म बिजुलीको शुल्कमा छुटको प्रतिबद्धता जनाएको छ।

दुवै दलका उस्तै वाचा
अघिल्ला बुँदाहरूजस्तै दुवै दलले पाँचौँ बुँदामा कृषिको विषय समेटेका छन्। कृषि उत्पादनको बजार व्यवस्थापन, उत्पादनमा आधुनिकीकरण र मल आपूर्तिबारे एमालेले १५ वटा प्रतिबद्धता जनाएको छ भने एकीकृत समाजवादीले १६ वटा प्रतिबद्धता जनाएको छ। दुवै दलकाले कृषि क्षेत्रमा जनाएका अधिकांश प्रतिबद्धता समान छन्।

एमालेले छैटौँमा यातायात पूर्वाधारको विषय समेटेको छ भने एकीकृत समाजवादीले सडक पूर्वाधारको विषय १३ नम्बर बुँदामा राखेको छ। वडा केन्द्रलाई पालिका केन्द्रसँग जोड्ने विषय दुवै दलको प्रतिबद्धतामा समेटिएको छ।

समाजवादीको सातौँ बुँदामा परेको उद्यमशीलतालाई प्रोत्साहन गर्ने प्रतिबद्धता एमालेको नवौँ बुँदामा छ। समाजवादीको आठौँ बुँदा र एमालेको नवौँ बुँदामा युवा सम्बन्धी प्रतिबद्धता छन्। दुवै दलले उद्यमशीलताको माध्यमबाट स्वदेशमै युवालाई रोजगारीको अवसर सिर्जना गर्ने वाचा गरेका छन्।

एमालेको दशौँ र समाजवादीको पन्ध्रौँ बुँदामा कला संस्कृतिको संरक्षण सम्बन्धी विषय समेटिएका छन्। समाजवादीको भन्दा एमालेले यो बुँदामा विस्तृतमा प्रतिबद्धताहरू जनाएको छ। तर दुवै दलले स्थानीय स्रष्टाहरूलाई सम्मान र संरक्षण गर्ने विषय दोहोर्‍याएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार