सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने, नाउपाकी थापा कृषि मन्त्री बन्दै

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन् ।

मंगलबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको संयुक्त बैठकले मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने सहमति गरेको हो ।

बैठकमा सहभागी माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले मुख्यमन्त्रीले प्रदेश सभामा २१ गते विश्वासको मत लिने समझदारी भएको जानकारी दिए ।

यस्तै नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापालाई मन्त्रालयसहित सरकारमा सहभागी गराउने सहमति भएको सोही पार्टीबाट सुदूरपश्चिम प्रदेश सरकारमा भौतिक पूर्वाधार मन्त्री रहेका कैलाश चौधरीले बताए ।

उनका अनुसार थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिने समझदारी बनेको छ । ‘प्रदेश प्रमुखको कार्यालयबाट शपथका लागि समय मागिएको छ । त्यसैअनुसार शपथ हुन्छ,’ उनले भने ।

वैशाख ६ मा मुख्यमन्त्रीमा नियुक्त सोडारीले अझैसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । मुख्यमन्त्री बनेकै दिन उनले नाउपाका कैलाश चौधरीलाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गरे । त्यसो त त्यस दिन उनले नाउपाकै टीका थापालाई पनि बिनाविभागीय मन्त्री बनाउन खोजेका थिए । तर बिना मन्त्रालयको मन्त्री बन्न थापाले अस्वीकार गरिन् । अहिले उनै थापा कृषि मन्त्रालयको जिम्मेवारीसहित सुदूरपश्चिम सरकारमा सामेल हुन तयार भएकी हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार