उपनिर्वाचनबारे रास्वपाको प्रतिक्रिया- इलामका मतदाताले घण्टी बजाइदिए

राष्ट्रिय स्वतन्त्र पार्टीले इलामको उपनिर्वाचनमा मतदाताले घण्टी बजाइदिएको प्रारम्भिक प्रतिक्रिया दिएको छ । रास्वपाका महामन्त्री डा. मुकुल ढकालले मंगलबार एक विज्ञप्ति जारी गर्दै मतदाताले घण्टी बजाइदिएर पार्टीलाई सचेत बनाइदिएको बताएका हुन् ।

“पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा यस निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्नेछौँ । निर्वाचन परिणामले हाम्रा प्रयासहरूमा कैयन कमीकमजोरी रहेको इंगित गरेको छ,” विज्ञप्तिमा भनिएको छ, “सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ ।” उनले अहिलेको मतका लागि इलाम क्षेत्र नम्बर २ का मतदाताहरूप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

“नतिजा हाम्रो अनुकूल नआए पनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भई जनताद्वारा व्यक्त मतको हामी सदैव सम्मान गर्दछौं,” विज्ञप्तिमा भनिएको छ, “साथै निर्वाचन अभियानमा समर्पित भई अथक परिश्रम गर्नुभएका पार्टी सदस्य तथा शुभचिन्तकहरूप्रति पनि हार्दिक सम्मान तथा धन्यवाद व्यक्त गर्दछौं ।”

इलाम–२ को उपनिर्वाचनमा नेकपा (एमाले) का सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । उनले २७ हजार ७७२ मत ल्याएर निर्वाचित भए । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर खड्काले २१ हजार ९४२ मत ल्याए । तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत ल्याएका छन् । चौथो स्थानमा रहेका रास्वपा उम्मेदवार मिलन लिम्बूले ५ हजार ५० मत ल्याए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार