पूर्वमाओवादीहरुको एकता वार्ताका लागि सीपी गजुरेलले राखे चार शर्त

नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले पूर्वमाओवादीहरु एकजुट हुनुपर्ने प्रस्तावलाई आफूहरुले सकारात्मक रुपमा लिएको बताएका छन् । तर त्यसका लागि आधार तयार पार्नुपर्ने भन्दै उनले चार शर्त अघि सारेका छन् ।

‘नेपालका सबै माओवादी र कम्युनिष्टहरू एकताबद्ध हुनुपर्छ भन्ने कुरामा हामी सकारात्मक छौं, यदि साँच्चै नै पूर्वमाओवादीहरू एकताबद्ध हुने हो भने केही आधारहरू तयार गरौं, म सुझावको रुपमा यहाँ केही कुराहरू राख्न चाहन्छु, तपाईंहरूको महाधिवेशनमा यो कुरा उठोस्,’ उनले भने ।

नेता गजुरेलले महाधिवेशनले जनयुद्द सुरु गर्नुभन्दा अगाडिको केन्द्रीय समितिको बैठकको निर्णय पुनस्स्थापित गर्नुपर्ने बताए । ‘हामीले जुन लक्ष्य राखेर जनयुद्ध गरेका थियौं, अझै पनि त्यो अपुरो र अधुरो छ, नेपाललाई जनगणतन्त्र बनाउनका लागि तुरुन्तै अघि बढौं, यो महाधिवेशनले त्यो विषय पारित गरोस्,’ गजुरेलले अघि भने, ‘राष्ट्रिय स्वाधिनताका केही विषयहरू पनि तपाईंहरूले निर्णय लिनुभयो भने राम्रो हुन्छ । अहिले चर्चामा रहेको राष्ट्रघाती एमसीसी खारेज गर्ने निर्णय गरौं ।’

उनले नेपालले गुमाएका भूभागहरू नक्सामा पाए पनि वास्तविकतामा नपाएको भन्दै त्यसका लागि पनि पार्टीले निर्णय लिनुपर्ने बताए । ‘हामीले गुमाएका नेपाली भूभागहरु नक्सामा त पायौं, तर वास्तविक रुपमा त्यो फिर्ता भएको छैन । नेपालले गुमाएका सबै भूभागहरू फिर्ता गर्नका लागि तपाईंहरूले निर्णय गर्नुहोस्,’ गजुरेलले भने, ‘यति निर्णयहरू तपाईंहरूले यो महाधिवेशनबाट गर्नुभयो भने हामीबीच पार्टी एकताका लागि बहस गर्ने ढोका खुल्नेछन् ।’

नेता गजुरेलले अघि भने, ‘यी सबै भयो भने पार्टी एकताका लागि बहस गर्ने, छलफल गर्ने ढोका खुल्छ । यो महाधिवेशनले त्यो ढोका खोलोस् ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार