शेखर कोइरालाले गरे दोस्रो चरणको निर्वाचनमा जाने निर्णय

प्रतिनिधिहरुलाई विवेकको प्रयोग गर्न आग्रह

कांग्रेस सभापतिका उम्मेदवार शेखर कोइरालाले दोस्रो चरणको निर्वाचनमा जाने निर्णय गरेका छन् ।

सभापतिमा पहिलो चरणको निर्वाचनपछि आएको मत परिणामको समीक्षा गर्न मंगलबार दिउँसो बसेको कोइराला समूहको बैठकले दोस्रो चरणको निर्वाचनमा जाने निर्णय गरेको हो । आफ्नो प्यानलका सबै उम्मेदवारलाई राखेर पत्रकार सम्मेलन गर्दै डा. कोइरालाले भने, ‘आफ्नो विवेक प्रयोग गर्नुस्, आफ्नो अन्तर आत्माले के भन्छ, त्यो भोटमा प्रतिविम्बित गर्नुस् ।’

कांग्रेसको समग्र जीवनमा परिर्वतन र सुधार गर्ने आफू र आफ्नो टीमको प्रतिज्ञा भएको उनले बताए । उनले अघि भने, ‘साथीहरुले भरोसा गरेर जुन भोट दिनुभयो, त्यसका लागि कृतज्ञता व्यक्त गर्छु ।’

कोइरालाको यो निर्णयसँगै अब कांग्रेस सभापतिका लागि आज दिउँसो साढे ३ बजेदेखि पुनः मतदान हुने निश्चित भएको छ ।

सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवालाई संस्थापन इतर समूहका नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङले समर्थन गर्ने घोषणा गरिसकेका छन् । इतर समूहले सहयोग नगरे पनि कोइरालाले चुनावबाटै फाइनल हुने निर्णय रोजेका छन् । उनले अन्तर्मनको आवाज सुनेर भोट हाल्न कांग्रेस महाधिवेशन प्रतिनिधिहरूलाई अपिल पनि गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार